Logo
१३ बैशाख २०८१, बिहीबार
(July 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने-‘पार्टी लगभग फुट्यो, तपाईंहरु कता हो कित्ता क्लियर गर्नुस्’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कित्ता क्लियर गर्न मन्त्रीहरुलाई सुझाएका छन् । बालुवाटारमा शनिबार साँझ आफ्नो मन्त्रिपरिषदका मन्त्री तथा राज्यमन्त्रीलाई बोलाएर प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘मैले अब बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु । तपाईंहरु कता लाग्ने हो ? कित्ता क्लिएर गर्नुहोस्‘, प्रधानमन्त्रीको भनाई उद्धिृत गर्दैै एक मन्त्रीले भने ।

नेकपा फुटको संघारमा पुगेको र एकताका लागि अझै प्रयास भने जारी राख्ने उनले बताउँदै कित्ता क्लिएर गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रमाण आफूसँग भएको खुलासा समेत गरेका छन् ।

पार्टी विवाद चर्किरहेकाबेला राज्यमन्त्रीसहित सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले राष्ट्रपतिलाई महाअभियोग लगाउनेसम्मका गम्भीर राजनीतिक षड्यन्त्र भएकाले आफूले सामना गर्न उत्रिएको बताए ।

प्रधानमन्त्रीले राष्टियताको पक्षमा, पार्टी एकता र कम्युनिष्ट आन्दोलनको पक्षमा हुने सबै निर्णय आफूलाई स्वीकार्य हुने बताउँदै भने, ‘तर त्यसविपरीतका कुनै पनि कदममा म साथ दिने छैन ।’

साँझ साढे ७ बजेदेखिको बैठकमा झण्डै आधा घन्टा बोलेका प्रधानमन्त्री ओलीले अर्को बैठकमा आउँदा आफ्नो निर्णय लिएर आउन मन्त्रीहरुलाई अल्टिमेटम दिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीले नेपालको नयाँ नक्सा प्रकरणपछि भएका विदेशी दबाब, प्रभावका कारण पार्टीमा संकट उत्पन्न भएको पुनः दोहोयाए ।

उनले आफूले गलत काम र प्रवृत्ति सधै अस्वीकार गर्दै आएको उल्लेख गर्दै मन्त्रीहरुबाट सहयोगको अपेक्षा राखे ।

प्रधानमन्त्रीको जानकारीमुलक भनाइपछि कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भूसालले महाअभियोगको कुरा हल्लामात्रै भएकाले त्यस्ता विषयमा सचेत हुनुपर्ने भनेका थिए ।

लगत्तै जवाफ दिँदै प्रधानमन्त्रीले आफूसँग त्यसको प्रमाण रहेको उल्लेख गरे । बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र मुख्य सचिव लोकदर्शन रेग्मी पनि सहभागी थिए ।

मन्त्रीहरुको परामर्शअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुगेका पुगेका थिए ।

उनले पार्टी फुट्न लागेकोबारे मन्त्रीहरुसँग गुनासो गरेका थिए । यस विषयमा मन्त्री तथा राज्यमन्त्रीहरूसँग परामर्श गर्दै उनले सुझाव समेत मागेको सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठीले जानकारी दिए ।

सत्तारुढ दल नेकपाभित्र पछिल्लो समय विवाद चर्किरहेको बेला मन्त्रीहरुलाई ओलीले त्यस्तो निर्देशन दिएका छन् । १० असारदेखि जारी पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको छ ।

सरकार संचालनमा एकलौटी भएको, पार्टीका गतिविधिहरुमा ध्यान नगएको, पार्टी फुटाउन उद्दत भएको भन्दै पार्टी भित्रकै शीर्ष नेताहरुले उनलाई राजीनामाका लागि भनेका थिए ।

पार्टीभित्रबाटै राजीनामा माग भएपछि उनले परिस्थिति जटिल बनेको भन्दै आफ्ना सरकारका मन्त्रीहरुलाई बोलाएर संकटको समाधान गर्नेगरी अघि बढ्न भनेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले केहीबेर अघिमात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग झण्डै २ घण्टा छलफल गरेर आएका थिए । राष्ट्रपतिसँग उनले पछिल्लो एक हप्तामा ३ पटक भेट गरिसकेका छन् ।

प्रकाशित मिति: Jul 4, 2020

प्रतिक्रिया दिनुहोस्