Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीहरुसँग प्रधानमन्त्रीले भने -‘म र राष्ट्रपतिविरुद्ध षडयन्त्र भयो, ‘बाईफोर्स’ नियन्त्रण गर्नेपर्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरु भइरहेको बताएका छन् ।

र, यस्तो बेलामा आफूले मन्त्रीहरुलाई तपाईहरु कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिएका छन् ।

‘मेराविरुद्ध षडयन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षडयन्त्रहरुलाई मैले बाईफोर्स, बाईस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’ प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग भने, ‘यस्तोबेलामा तपाईहरु कता भनेर मैले सोध्नुपर्ने हुनसक्छ । तपाईहरुले आफ्नो साइड रोज्नुपर्ने हुनसक्छ ।’

राष्ट्रपतिविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रयास भइरहेको हल्लाबाट प्रधानमन्त्री प्रभावित भएको हुन सक्ने एक मन्त्रीले आशंका गरे ।

“पार्टी एकता चरम सङ्कटमा छ : प्रधानमन्त्री

छलफलमा सहभागी अर्का एकमन्त्रीका अनुसार प्रधानमन्त्रीले बैठकमा पार्टी एकतालाई झन् सङ्कटतिर डोर्‍याउने कुरा गरेका थिए ।

“पार्टी एकता चरम सङ्कटमा छ । स्थायी कमिटीमा हुल्लडबाजहरूले अनर्गल प्रचार गरिरहेका छन् । मलाई तल्लो स्तरमा झरेर गालीगलौज गर्ने, अत्यन्तै अपमानित गर्ने काम भइरहेको छ ।

तपाईंहरू पार्टीको सदस्य पनि हो,” प्रधानमन्त्रीले मन्त्रीसँग भनेको कुरा एक सदस्यले उद्धृत गरे, “त्यो हुल्लडबाजहरूको समूहले गरेको कुनै पनि निर्णय म मान्दिनँ । मान्नुपर्ने बाध्यता पनि छैन ।”

उनले मन्त्रीहरूलाई तपाईंहरू कता लाग्ने भन्दै प्रश्न सोधेका थिए । “तपाईंहरू मन्त्रिपरिषद् सदस्य मात्रै होइन । पार्टी कमिटी सदस्य पनि हो । कता लाग्ने प्रष्ट हुनुहोला ।”

प्रधानमन्त्री ओली तथा मन्त्री र राज्यमन्त्रीहरूबीचको छलफल सकिएको छ। भर्खरै बैठक सकिएको मन्त्री तथा राज्यमन्त्रीहरू बालुवाटारबाट बाहिरिने क्रम सुरु भएको छ।

शनिबार साँझ ७ बजे सबै मन्त्री र राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले बोलाएपछि बालुवाटारमा उनीहरूबीच छलफल भएको हो। तर के के विषयमा छलफल भएको भन्नेबारे कसैले बोलेका छैनन् ।

राज्यमन्त्री तथा मन्त्रीहरूसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल र परामर्शका लागि शनिबार साँझ प्रधानमन्त्री ओली शीतल निवास पुगेको बालुवाटार स्रोतले जनाएको छ।

बैठकबाट बाहिरिएका गृहमन्त्री र उर्जामन्त्री बोलेनन्
यसैबीच प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी भएका गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल र ऊर्जामन्त्री वर्षमान पुन बैठकबाट बाहिरिँदा सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन्।

छलफलअघि प्रधामन्त्रीले राष्ट्रपतिलाई भेटेका थिए । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्रीको नियमित भेट भनेका छन् ।

नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला यो छलफलबाट निस्कने निष्कर्षलाई महत्वका साथ हेरिएको छ ।

 

प्रकाशित मिति: Jul 4, 2020

प्रतिक्रिया दिनुहोस्