Logo
६ बैशाख २०८१, बिहीबार
(July 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका कारण २८ वर्षपछि बोलबम धाममा जलार्पण यात्रा स्थगित

रुपन्देहीको सैनामैना नगरपालिका-१ स्थित पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबम धाममा २८ वर्षपछि जलार्पण यात्रा स्थगन भएको छ ।

धामको मन्दिर व्यवस्थापन समितिले आज पत्रकार भेटघाटमा श्रावणी जलार्पण यात्रा र मेलाका कार्यक्रम बन्दाबन्दीका कारण नहुने जानकारी दिएको छ ।

धाममा विसं २०४९ को साउनबाट बोलबम यात्राको शुुभारम्भ भएको थियो । नेपालका विभिन्न जिल्लामा रहेका कालिगण्डकी, नारायणी, कोशी, वाग्मतीलगायतका नदीबाट जल ल्याई जलार्पण गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको मन्दिर व्यवस्थापन समतिका अध्यक्ष रामवली चौधरीले जानकारी दिए ।

भारतको उत्तर प्रदेश, विहार, उत्तराखण्डलगायतका स्थानबाट भक्तजन बोलबम धाममा आउने बताइएको छ । अध्यक्ष चौधरीले मन्दिरमा जलार्पण र दर्शन गर्ने व्यवस्था गर्न नसकेकामा दुःखी भएको उल्लेख गर्दै असुविधाप्रति क्षमा मागेका छन् ।

व्यासाचार्य किशोर गौतमले यो एउटा शास्त्रीय परम्परा भएको उल्लेख गर्दै भगवान् शिवको आराधना गरेको लामो परम्परा भएकाले कोटी रुद्र संहिताअन्तर्गत पार्वतीले शिव लिङ्गपुजन गरेको धार्मिक विश्वास भएको बताए ।

साउनमा देशभरका शिवपीठ र विदेशका शिवपीठमा समेत जल चढाइने बताइएको छ । मन्दिर व्यवस्थापन समितिले धाममा आउँदा अनिवार्य मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम राख्नुपर्ने र मन्दिरभित्र भीडभाड र भेटघाट गर्नसमेत निषेध गरेको छ ।

प्रकाशित मिति: Jul 4, 2020

प्रतिक्रिया दिनुहोस्