Logo
१३ बैशाख २०८१, बिहीबार
(July 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखलाई थाहै नदिई राष्ट्रपतिद्वारा संघीय संसदको बजेट अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

उनले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् ।

बैठकमा प्रधानमन्त्रीले कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेतिर हेरेर सं‌सदको कुनै विजनेस छ ? भनी प्रश्न गरेका थिए ।

मन्त्री तुम्बाहाम्फेले नागरिकता, निजामती सेवासम्बन्धी विधेयकमा विवाद रहेको र अरू खासै केही नभएको बताएपछि प्रधानमन्त्रीले त्यसो भए आजै साँझ ५ बजेटबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय सुनाए ।

वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले नागरिकता र निजामती सम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने थियो ।

कोरोना महामारीकै बीच सुरु भएको बजेट अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, बजेट पारित गरेको छ । त्यसबाहेक केही विधेयकहरु पनि पारित गरेको छ ।

मन्त्रिपरिषद बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गरेका थिए ।

सभामुखलाई थाहै नदिई संसद अधिवेशन अन्त्य

सरकारले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग छलफल नै नगरी स‌ंसदको चालु अधिवेशन अन्त्य गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कां‌ग्रेसले पनि आफूहरुसँग परामर्श नै नगरी अधिवेशन अन्त्य गरेकामा असन्तुष्टि जनाएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको जानकारी स‌ंसद सचिवालयलाई गराएकी छन् ।संसद अधिवेशन अन्त्यका विषयमा सभामुख सापकोटासँग छलफल नै नभएको सभामुखको सचिवालय स्रोतले बतायो ।

संसद सचिवालयले पनि चालु अधिवेशन कम्तीमा असार महिनासम्म लम्बिने बताउँदै आएको थियो । नागरिकता विधेयक, निजामती कर्मचारीको सेवा शर्त सम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने तयारी थियो ।

तर, सरकारले संसदको बिजनेस ख्याल नगरी अन्त्यको सिफारिस गरेको संसद सचिवालयका कर्मचारीहरु बताउँछन् ।

प्रकाशित मिति: Jul 2, 2020

प्रतिक्रिया दिनुहोस्