Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाउलाखेलको रेष्टुरेण्टमा प्रचण्ड र नेपाल पक्षको भेला : ओलीको स्वेच्छाचारिता अन्त्य गर्ने निष्कर्ष

सत्तारुढ नेकपाको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता अन्त्य गर्ने निष्कर्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले निकालेका छन्।

बुधबार बेलुका जाउलाखेलको एक रेष्टुरेण्ट बसेको दाहाल नेपाल पक्षीय भेलाले प्रधानमन्त्री ओलीलाई सहज ढंगबाट राजीनामा गराउन प्रयास गर्ने निर्णय गरेको हो।

भेलामा ओली इतरका सबै स्थायी समिति सदस्यको उपस्थिति थियो। नेकपा स्थायी समितिका ४५ जना सदस्यमध्ये दाहाल र नेपाल पक्षमा रहेका ३० जना स्थायी समिति सदस्यहरुको उपस्थित रहेको थियो। जुन ओलीविरुद्ध शक्ति प्रर्दशन समेत भएको विश्लेषण गरिएको छ।

भेलामा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, मन्त्रीसमेत रहेका वर्षमान पुन, शक्ति बस्नेत, सहभागी थिए। गौतम भने छलफल चलिरहँदा पहिले नै हिँडेको स्रोतले जानकारी दियो। मन्त्री योगेश भट्टराई भने उपस्थित भएनन्।

दाहाल नेपाल खेमा पहिलोपटक गृहमन्त्री समेत रहेका नेता रामबहादुर बादल सहभागी भए। यसअघि उनी प्रधानमन्त्री ओलीको पक्षमा उभिदै आएका थिए।

बैठकमा सहभागी एक नेताका अनुसार भेलाले अब ओलीको नेतृत्वमा सरकार र पार्टी सञ्चालन हुन नसक्ने भएकाले राजीनामालाई बटम लाइन बनाउँदै स्थायी समिति बैठकमा प्रस्तुत हुने सहमति गरेको छ।

भेलाको निर्णयबारे जानकारी दिँदै स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने, ‘पार्टी र सरकार सञ्चालनमा ओलीको स्वइच्छाचारिताको अन्त्य हुनुपर्छ भन्नेमै सबैको जोड रह्यो। पार्टी विधि प्रक्रियाबाट अघि बढ्नुपर्छ भन्ने निष्कर्ष निकायौं।’

ओलीलाई राजीनामा गराउँदा पार्टी फुट्न सक्ने विषयमा समेत बैठकमा छलफल भएको थियो। अर्का एक स्थायी समिति सदस्यले भने, ‘पार्टी फुट्न सक्ने विषयमा पनि छलफल भयो। फुट्नबाट जोगाउँदै सबैलाई भूमीका दिने गरी अघि बढ्नुपर्छ भन्नेमा सहमति भएको छ।’

प्रधानमन्त्री ओलीले बैठक चलिरहेका बेला बालुवाटारमा भेला गरेकाले आफूहरु पनि भेला भएको नेता भीम रावलले छलफलपछि पत्रकारहरुसँग बताए।

नेकपाको स्थायी समिति बैठकमा मंगलबार बोलेका १८ मध्ये १७ र बुधबार बोलेका पाँच मध्ये चार जनाले ओलीले राजीनामा दिनुपर्ने बताएका थिए। बोल्न बाँकी नेताहरुले बिहीबार पनि त्यहीँ लाइनलाई थप चर्काउने भएका छन्।

दाहाल नेपाल समूह ओलीलाई जसरी पनि प्रधानमन्त्री पदबाट राजीनामा गराउने तयारीका साथ अघि बढे पनि प्रधानमन्त्री ओली भने पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने अडान रहेको उनी निकट एक नेताले बताए।

प्रकाशित मिति: Jul 2, 2020

प्रतिक्रिया दिनुहोस्