Logo
१२ बैशाख २०८१, बुधबार
(June 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार आफैँले वैदेशिक रोजगारमा अलपत्रको उद्दार गर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार फिर्ती सम्बन्धी कार्यविधि २०७७ तयार पारेको छ। सो कार्यविधि आज (सोमबार) बस्ने मन्त्री परिषद्‌मा पेश गर्ने तय भएकाे छ। मन्त्रीपरिषद्ले स्वीकृत गरेमा सो कार्यविधि लागू हुनेछ।

कार्यविधिमा व्यवस्था भएअनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र अवस्थामा रहेका रोजगारदाताले खर्च नबेहोरिदिएर समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फर्काउन वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरिने उल्लेख गरिएको छ।

एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएर अलपत्र परेका कामदारहरु स्वदेश फर्काउँदा शतप्रतिशत खर्च कोषको रकमबाट बेहोरिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा गएको एक वर्ष वा सोभन्दा बढी अवधिभित्र रोजगारी गुमाएका श्रमिकहरु स्वदेश फर्काउनका लागि भने कोषबाट ५० प्रतिशत खर्चमात्रै बेहोरिने व्यवस्था गरिएको छ।

सम्बन्धित रोजगारदाताले कामदारलाई हवाई शुल्क उपलब्ध गराउने वा नगराउने? कामदारको अवस्था, तलबलगायत सेवासुविधा पाएको वा नपाएको बारे कुटनीतिक नियोगले छानबिन गर्ने मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताए। सोही आधारमा समस्यामा परेका श्रमिकहरुको सूची दूतावासले तय गर्नेछ।

कार्यविधिको खर्च व्यवस्थापन सम्बन्धी प्रक्रिया मा बोर्डले आवश्यक खर्च कुटनीतिक नियोगलाई निकासा गर्ने व्यवस्था गरिएको छ। अलपत्र कामदार स्वदेश फर्काउन लाग्ने हवाई टिकटबापतको खर्च र कामदारको विवरणसहित संलग्न गरी सम्बन्धित कुटनीतिक नियोगले रकम निकाशाको लागि बोर्डको सचिवालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: Jun 29, 2020

प्रतिक्रिया दिनुहोस्