Logo
८ बैशाख २०८१, शनिबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा चहलपहल ह्वातै बढेसँगै झापामा दूरी र मास्कको प्रयोग ‘अनिवार्य’

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट नेपाल पनि विस्तारै विस्तारै ग्रसित बन्दै गैरहेकोे छ । छिमेकी मुलुक भारतको खुला सिमानाकाबाट नेपाल भित्रिने मानिसहरुको व्यवस्थापनमा कडाई नहुँदा अहिले मुलुकमा कारोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ । त्यस्तै खुला सिमानाका भएको प्रदेश १ स्थित झापामा कोरोना संक्रमण बढ्दो छ । तर, बजारमा आवत-जावत गर्नेको संख्या पनि ह्वातै बढेको छ ।

भिडभाड बढ्दै गएको र मास्कको प्रयोग नगर्नेको संख्यासमेत बढ्दै गएका कारण संक्रमणको जोखिम न्यून गर्न झापामा थप कडाइ गरिएको छ । स्थलमार्ग भएर झापाका विभिन्न नाकाबाट भित्रने नेपालीको संख्या दिन-दिनै बढेसँगै कोरोना संक्रमितको संख्यासमेत प्रदेश नम्बर-१ को झापामा तीव्ररुपमा बढ्दै गएको छ ।

झापामा अहिलेसम्म २०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । आवत-जावत गर्दा मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने भएपनि झापामा पछिल्लो समय त्यस्तो देखिँदैन । जसका कारण कोरोना फैलने त्रास बढेको छ ।

भारतको पश्चिम बंगाल र बिहार राज्यसँगको खुला सीमा जोडिएको झापाको विभिन्न गौडाबाट लुकीछिपी भित्रने नेपालीको संख्या एकतर्फ रोकिएको छैन भने अर्कोतर्फ प्रदेशकै धेरै कोरोना संक्रमित यही जिल्लामा छन् ।

तर, कोरोनाबाट बच्ने सावधानीका उपाय अपनाउन छाडेपछि झापामा थप कडाइ गरिएको हो ।विभिन्न संघ-संस्थाको अगुवाइमा अहिले बिर्तामोडलगायत झापाका विभिन्न पसल तथा मलअगाडि सामाजिक दूरी कायम राख्न एकरएक मिटरको दूरीमा गोलो घेरा बनाउँदै सामान किन्न आउनेलाई अनिवार्य मास्क लगाउन अनुरोध गर्ने अभियान सुरु गरिएको छ । जसमा बिर्तामोड नगरपालिकाकोसमेत सहभागिता रहेको छ ।

पूर्वकै व्यस्त सहरको रुपमा रहेको बिर्तामोडमा सामाजिक दूरी तथा मास्कको प्रयोग नगर्नेको संख्या बढेसँगै जोखिम बढेको भन्दै व्यवसायीहरुसमेत स्वतःस्फूर्तरुपमा सडकमा निस्किएका छन् ।

‘लकडाउन’ खुकुलो भएसँगै मानिसको जमघट बढेकाले यो अवस्थामा भौतिक दूरी, मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोग, बारम्बार हात नधुने हो भने यसले भयावह अवस्था नआउला भन्न सकिन्न । त्यसैले अहिलेको यो समयमा लकडाउन खुकुलो भएपनि आफैं सजग हुन जरुरी देखिन्छ ।

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्