रूखका हाँगा र कापमा उम्रने सुनगाभाहरू किन परजीवी हुँदैनन् ?
भौगोलिक बनावट अनुसार विश्वको जुनसुकै स्थानमा पनि पाईने सुनाखरी यति बेला पोखरा तथा आसपास जङ्गल क्षेत्रमा करीब २०० प्रजातिका फूल फुलेको देख्न पाइन्छ । ८०० देखि २,३०० मिटर उचाइसम्म यो फूल फुल्छ ।
सुनगाभा, सुनाखरी, अर्किड यी तीनै नामले एउटै फूललाई जनाउँछ । सुनगाभा र सुनाखरी नाम केवल स्थान बिषेश अनुसार बोलीचालीमा फरक नाम हुन भने, अर्किड चाहिं आयातित नाम । तर काठमाडौंका पुष्प ब्यवसायीहरू विदेशी प्रजातिका सुनगाभा / सुनाखरीलाई अर्किड नै भन्न रुचाउँछन ।
वैज्ञानिक शब्दावलीमा सुनाखरीलाई डेण्ड्रोवियम भनिन्छ । डेण्ड्रोको अर्थ वृक्ष र विओस् भनेको जीवन हो । सुनाखरीहरू अन्य रूखमा हुर्कने गर्दछन् । प्रायः सबै रूखका हाँगा र कापमा उम्रने गरेपनि सुनगाभाहरू परजीवी हुँदैनन् ।
यिनले ऐंजेरुले झै आफू चढेकै वृक्षमा जरा गाडेर खाद्य-रस चुस्दैनन्, हावाबाटै मलजल प्राप्त गर्दछन् । कुनै – कुनै प्रजाति त जमीनमै उम्रन्छन्, रूख चढ्दा पनि चढ्दैन ।
तस्वीर : रासस