Logo
८ बैशाख २०८१, शनिबार
(June 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाग्मती मुख्यमन्त्रीद्वारा पूर्वी मकवानपुरका महत्वपूर्ण परियोजनाको अनुगमन

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वी मकवानपुरमा रहेका महत्वपूर्ण परियोजनाहरुको अनुगमन गरेका छन् ।

सोमबार पूर्र्वी मकवानपुरको बकैया तथा वाग्मती गाउँपालिका पुग्नुभएका मुख्यमन्त्री पौडेलले उक्त क्षेत्रमा भइरहेका समग्र विकास निर्माणका बारेमा जानकारी लिनुका साथै छिमेकी जिल्ला सिन्धुलीलाई मकवानपुरसँग जोड्ने मदन भण्डारी राजमार्ग (धरान-चतारा)अन्तर्गत वाग्मती नदीमा निर्माणाधीन पुलको अवलोकन गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।

पुलको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले विगतमा पुल निर्माणको काम सन्तोषजनक नभएको भए पनि हाल भएको कामले आशा जगाएको बताए । उनले अझै सोचेअनुसारको काम भने हुन नसकेको उल्लेख गरे ।

पौडेलले प्रदेशका विभिन्न जिल्लालाई राजधानी हेटौँडासँग जोड्न धरान-चतरा सडकखण्डअन्तर्गतको उक्त पुल महत्वपूर्ण हुने बताए ।

पुल निर्माणपछि प्रदेश राजधानी हेटौँडासँग सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लालाई सडक सञ्जालसँग सहजरूपमा जोड्न सकिने उनको भनाइ थियो ।

पूर्वपश्चिम राजमार्गमा भइरहेको सवारी चापलाई घटाउने र विभिन्न कारणले हुने अवरोधको विकल्पसमेत हुने भएकाले हेटौँडा-धरान सडक महत्वपूर्ण मानिएको छ ।

तीन सय १८ किलोमिटर लामो यो सडकले धरानलाई चतरा, गाईघाट, सिन्धुली हुँदै मकवानपुरको हेटौँडासँग जोड्छ । हाल हेटौँडा-सिन्धुली र सिन्धुली-उदयपुर गरी दुई खण्डमा सडक निर्माणको काम दु्रतगतिमा चलिरहेको जनाइएको छ ।

प्रकाशित मिति: Jun 23, 2020

प्रतिक्रिया दिनुहोस्