Logo
१३ बैशाख २०८१, बिहीबार
(June 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यूएई र कतारबाट ३ सय जना नेपाली काठमाण्डौ आइपुगे

कोरोनाका कारण बिदेशमा अलपत्र परेका नेपालीलाई यति बेला उद्धारकार्य जारीरहेको अवस्थामा आज यूएईको आबुधाबी र कतारको दोहाबाट नेपालीहरु काठमाण्डौ आइपुगेका छन् ।

यूएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएर हिमालय एअरलाइन्सको चार्टर्ड जहाज केहीबेरअघि काठमाण्डौमा अवतरण गरेको हो ।

यस्तै, कतारको दोहाबाट १४९ जना नेपाली स्वदेश आइपुगेका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडान नम्बर आर ए २३९२ मार्फत १४९ जना नेपाली स्वदेश फर्किएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार, दोहाबाट सुत्केरी र गर्भवतीसहित ८२ जना महिला, तीनजना नाबालक र ६४ जना पुरुष स्वदेश फर्किएका छन् ।

यूएईको आबुधाबीबाट जहाजमा २ जना नाबालक सहित २६ जना महिला र १ सय २३ जना पुरुष छन् । नेपाल फर्किनेहरुमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेका दूतावासले जनाएको छ ।

त्यस्तै केही बिरामी तथा घाइते पनि आजको उडानमा फर्किएका छन् । यूएईबाट फर्किएका सबैको विमानस्थलमा कोरोना परीक्षण गरिएको छ ।

यूएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क परीक्षण गरिदिएको हो । आज परीक्षण गरेकामध्ये ३ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ ।

पोजेटिभ देखिएकाहरु आजको उडानमा स्वदेश फर्कन पाएनन् । उनीहरुको यसपछिको रिपोर्टका आधारमा अर्को उडानमार्फत स्वदेश फर्काइने एयरलाइन्सले जनाएको छ ।

कोरोना भाइरसको महामारीबाट सिर्जना भएको असहज परिस्थितिकाबीच विदेशमा अलपत्र परेका नेपाली स्वदेश फिर्ता गर्ने सरकारी निर्णय अनुसार दूतावासले चार्टर्ड उडानमार्फत प्राथमिकतामा परेकालाई नेपाल पठाएको हो ।

आज बिहान साउदीको रियादबाट पनि २४६ जना नेपाली स्वदेश आइपुगेका छन् । आजै यूएईबाट थप दुई उडानमार्फत नेपाली फर्कंदै छन् भने बहराइन, मलेसिया, बंगलादेश र बहराइनबाट पनि नेपाली स्वदेश फर्कंदैछन् ।

प्रकाशित मिति: Jun 21, 2020

प्रतिक्रिया दिनुहोस्