Logo
६ बैशाख २०८१, बिहीबार
(June 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीको पर्सा गाउँपालिकामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झड्प एक भारतीयको मृत्यु

प्रदेश २ स्थित सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीको टोलीबीच झपड हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा सशस्त्र प्रहरीका तीनजना र भारतीय नागरिक तीनजना गरी ६ जना घाइते भएका छन् ।

पर्सा गाउँपालिका-३ नारायणपुरमा सशस्त्र प्रहरी र भारतीय नागरिक बीच झड्प भएको हो । स्थिति नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागि एक भारतीय नागरिकको ज्यान गएको छ ।

महोत्तरीको गुलरीयाका एक व्यक्ति भारतीय सिमावर्ती गाउँ लालबनीमा आफ्नो छोरी काँहा जान खोजेपछि सशस्त्र प्रहरीले रोकेपछि भएको बिवाद उग्ररुप लिएपछि दोहरो झडप भएको पर्सा-३ का वडा अध्यक्ष भिखारी साहले जानकारी दिए ।

महोत्तरीका ती व्यक्तिका ज्वाईसंग सशस्त्र प्रहरीको बिवाद भएपछि सिमा नजिकै रहेको गाउँबाट ठूलो संख्यामा आएको भारतीय नागरिकले सशस्त्र प्रहरीमाथि आक्रमण गर्न खोजेपछि सशस्त्र गोली चलाएको वडा अध्यक्ष साहले बताए ।

त्यसक्रममा भएको झडपमा परी भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोस्ने प्रयास गरेका थिए । सशस्त्र प्रहरीसँग निहुँ खोज्दै भारतीय नागरिकले बन्दुक खोस्ने प्रयास गरेपछि झडप भएको थियो ।

मृत्यु हुने भारतीय नागरिकको परिचय खुल्न नसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले १५ राउण्ड फायर गरेको थियो ।

जसमा तीन जना भारतीय नागरिकलाई गोली लागेको थियो । जसमध्ये एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । झडपमा दुई जना सशस्त्र प्रहरी पनि घाईते भएको जनाईएको छ ।

झडपमा संलग्न मध्य एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले अनाधिकृत रुपमा नेपाल छिर्ने खोज्ने व्यक्तिहरुलाई सुरक्षाकर्मीले रोक्न खोज्दा झपड भएको बताए ।

उनले भारतीय नागरिकले खोसेको हतियार पछि सुरक्षाकर्मीले फिर्ता लिन सफल भएको बताए । झडपमा तीनजना भारतीय नागरिकलाई गोली लागेको र उनीहरु मध्ये एकजनाको मृत्यु भएको उनले बताए ।

सुरक्षामा खटिएका तीनजना शसस्त्र प्रहरीलाई पनि चोटपटक लागेको उनले बताए । सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठले नाकामा फायरिंग भएको र आफूले विवरण बुझ्ने काम गरिरहेको बताए ।

यसअघि झापा बारा लगायतका विभिन्न जिल्लाका सीमावर्ती क्षेत्रमा भारतीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो ।

‘अनाधिकृत रुपमा प्रवेश गर्नेलाई सुरक्षाकर्मीले रोक्ने नै भए, त्यस क्रममा सुरक्षाकर्मीलाई हातपात गरेर हतियार खोसेपछि प्रहरीले फायरिंग गरेको हो’ प्रमुख जिल्ला अधिकारी जिसीले भने ।

प्रकाशित मिति: Jun 12, 2020

प्रतिक्रिया दिनुहोस्