Logo
८ बैशाख २०८१, शनिबार
(June 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं २ मा स्वाब सङ्कलनलाई तीव्र पार्दै, एकैदिन एक हजार ४२० स्वाब सङ्कलन

कोभिड-१९ सङ्क्रमण बढ्दै गएपछि प्रदेश नं २ मा स्वाब सङ्कलनलाई तीव्र बनाइएको छ ।

बुधबार एकै दिनमा प्रदेशका छ जिल्लाका एक हजार ४२० को पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले पुष्टि गरेको हो ।

एकै दिनमा यति धेरै स्वाब सङ्कलन गरिएको अहिलेसम्मकै सर्वाधिक हो ।प्रदेशका आठ जिल्लामध्ये छ जिल्लामा बुधबार स्वाब सङ्कलन गरिएको छ ।

जसमध्ये पर्सामा ५६१, महोत्तरीमा ३४३, सर्लाही १८७, रौतहट १५२, बारा ११७ र धनुषाका ६० जनाको स्वाब सङ्कलन गरिएको निर्देशनालयका निमित्त निर्देशकसमेत रहेका वरष्ठि स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

प्रदेशमा अहिले स्वाब सङ्कलनको कूल सङ्ख्या २९ हजार ९५१ पुगेको छ । प्रदेश नं २ का आठ जिल्लामा गरी अहिले पिसीआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक हजार ५७३ पुगेको छ ।

जसमा सबैभन्दा बढी रौतहट जिल्लामा ४७६ छन् । त्यसैगरि सर्लाहीमा ४१४, महोत्तरी १६७, धनुषा १४४, पर्सा ११९, सप्तरी १११, बारा ७७ र सिरहाका ६२ छन् ।

स्वाब परीक्षण गरिएकामध्ये बुधबार साँझसम्म १५ हजार ३८९ को नतिजा (परिणाम, रिपोर्ट) आएको छ । जसमा एक हजार ५७३ सङ्क्रमित पाइएका हुन् ।

अझै १४ हजार ५६२ जनाको परिणाम आउन बाँकी नै रहेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए । प्रदेशका आठै जिल्लामा अहिलेसम्म ४२६ क्वारेन्टिन बनाइएका छन् ।

अहिले यी केन्द्रमा ३१ हजार ५४८ श्यया छन्, जसमा १९ हजार ७६९ रहेका छन् । यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा घरमै क्वारेन्टिनमा बस्नेको सङ्ख्या सात हजार ८७२ छ ।

प्रदेशमा आइसोलेसन श्यया बढाएर एक हजार ३६१ पुर्‍याइएको छ । अहिले आइसोलेसनमा ७४९ जना छन् ।

प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कनको सङ्ख्या २९९ पुगेको छ । जसमध्ये ३६ जना हिजो बुधबार निको भएर घर फर्केका हुन् ।

प्रदेशमा हालसम्म १२ हजार ३६७ जनाको आरडिटी गरिएको छ । जसमा ५५३ जनाको नतिजा पोजेटिभ र ११ हजार ८१४ को नतिजा नेगेटिभ आएको छ ।

यद्यपि पछिल्ला दिनमा क्वारेन्टिनमा रहेकाहरुको पिसीआर जाँचमै जोड बढाइएको निर्देशनालयले जनाएको छ ।

क्वारेन्टिन केन्द्र र श्यया थपिँदै गए पनि पिसीआर परीक्षण अझै सघन हुनसकेको छैन । यो परीक्षणका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्री पर्याप्त नहुँदा गति बढ्न नसकेको क्वारेन्टिन केन्द्रको रेखदेखमा रहेका स्वास्थ्यकर्मीको भनाइ छ ।

यद्यपि प्रदेशमा कोभिड-१९ रोकथाम अभियानको समन्वय गर्दै आएको सामाजिक विकास मन्त्रालय र प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले उपलब्ध सामग्री र दक्ष जनशक्ति स्वाब सङ्कलनमा लगाइँदै आइएको जनाएको छ ।

प्रकाशित मिति: Jun 11, 2020

प्रतिक्रिया दिनुहोस्