Logo
१३ बैशाख २०८१, बिहीबार
(May 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी मनाउँदैछन् मुस्लिम समुदायले यसपालीको ईद [फोटो-भिडियो]

कोरोना संकटबीच जारी लकडाउनको अवस्थामा पनि रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् ।

बिगतको वर्ष जस्तो यसवर्ष भने त्यती भीड देखिएको छैन । समाजिक संजालमा देखिएका तस्विरहरुमा प्रायः पारिवारिक रुपपले मात्र यो पर्व मनाएको देखिन्छ ।

पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यसपालि कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मस्लिम आयोगले आह्वान गरेको छ ।

ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् ।

ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम कोषमा दिने परम्परा छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बी बताउँछन् ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

फरक–फरक भूगोल विशेषमा ईदको दिन विगतदेखि नै फरक पर्दै आएको छ । तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक-फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ ।

ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु) ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने-खुवाउने चलन छ ।

 

तस्विर : समाजिक संजाल

प्रकाशित मिति: May 25, 2020

प्रतिक्रिया दिनुहोस्