Logo
२७ आश्विन २०८१, आईतबार
(May 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काेराेनाबाटै नेपालमा पहिलो मृत्यु : परिवारले शव हेर्न मात्रै पाउने, जम्मा संक्रमित २८१

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलो मृत्यु भएको छ। माघदेखि संक्रमण फैलिएको नेपालमा संक्रमितको संख्या २८१ पुगेपछि एकजनाले ज्यान गुमाएका हुन्।

कोरोनाबाट ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-९ निवासी २९ वर्षीया रहेकी छन्।

त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएर सुत्केरी भएपछि वैशाख २५ मा डिस्चार्ज भएकी उनको बिहीबार राति १० बजे धुलिखेल अस्पतालमा ज्यान गएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबा राति एक विज्ञप्ति जारी गर्दै उक्त कुराको पुष्टि गरेका हुन्।

उनको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले पनि गरेका छन्।

त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएर घर फिरेकी उनलाई उच्च ज्वरोसहित श्‍वास फेर्न गाह्रो भएपछि धुलिखेल अस्पतालमा ल्याइएको थियो।

सिन्धुपाल्चोकको राम्चे स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने भएपछि धुलिखेल ल्याइएकी उनले त्यहीँ ज्यान गुमाएकी हुन्।

उनको नौ दिनको शिशु जिवित रहेका छन्। कोरोनासँग मिल्दो लक्षण देखिएपछि ती महिलाको स्वाब संकलन गरेर धुलिखेलस्थित पिसिआर ल्याबमा परीक्षण गरिएको थियो।

तर यसअघि गरिएको आरडिटी परीक्षणमा भने उनमा कोरोना नेगेटिभ देखिएको थियो। धुलिखेल अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उनको स्वाब पुन:परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनवस्वास्थ्य ल्याबमा ल्याइएको थियो।

त्यहाँ दुई पटक गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। उनमा कोरोना देखिएपछि धुलिखेल अस्पतालमै पति, नन्द र सासुको पनि स्वाब लिइएको छ।

उनीहरुको स्वाब अहिले परीक्षण भइरहेको छ।नेपालमा सबैभन्दा पहिले गत माघमा चीनबाट आएका युवकमा कोरोना देखिएको थियो।

त्यसपछि देशमा २६ वटा जिल्लामा कोरोना पुष्टि भइसकेको छ। अहिलेसम्म नेपालमा २ महिने शिशुदेखि ८१ वर्षीया वृद्धामा पनि कोरोना देखिएको छ।

नेपालमा सबैभन्दा धेरै पुरुषमा कोरोना देखिएको छ। महिलामा भने पुरूषको तुलनामा न्यून संक्रमण देखिएको छ।

यससँगै नेपालमा जम्मा संक्रमितको संख्या पनि २८१ पुगेको छ। जसमा अहिलेसम्म कोरोनालाई जितेर घर फर्किनेको संख्या ३६ रहेको छ।

मृत्यु भएकाकाे शव परिवारले हेर्न मात्रै पाउने

यसैबीच कोरोना भाइरसबाट ज्यान गुमाए उक्त व्यक्तिको परिवार तथा आफन्तले मृतककाे शव छुन पाउने छैनन्। छुन मात्र नभई एक मिटर परबाट मात्रै शव हेर्न मात्र पाउनेछन्।

मेडिकल काउन्सिलको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिमा यस्ताे व्यवस्था गरिएकाे छ।

तर शवलाई व्यक्तिको धर्मअनुसार परिवारले नछोइकन अन्त्येष्टि गर्न भने पाउनेछन्। मृत्यु भएका व्यक्तिको शव छुदा भाइरस सर्ने भएकाेले संक्रमित व्यक्तिको शव व्यवस्थापनमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।

साेही कारण यस्ताे व्यवस्थासहितकाे शव व्यवस्थापन निर्देशिका जारी गरिएको मन्त्रालयले बताएकाे छ।

सरकारले ६० वर्षभन्दा माथि र दीर्घरोगका बिरामीलाई शवको नजिक जानसमेत रोक लगाउने भएकाे छ। कोभिड १९ बाट वृद्धवृद्धा र दीर्घरोगका बिरामीहरुमा उच्च जोखिम हुने भएकाेले याे व्यवस्था गरिएकाे हाे।

यस्तै कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाहरुको शव अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सहभागी मृतकका आफन्तले पन्जा, चस्मा, टोपी, मास्कसहित पिपिई अनिवार्य प्रयोग गर्नुपर्ने प्रावधान राखिएको छ।

तर कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको सामान्यतया पोष्टमार्टम गर्न नपर्ने र गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुन सक्ने भएकाले विशेष होसियारी अपनाउनपर्ने समेत विज्ञहरुले बताएका छन्।

शवलाई राम्रोसँग हावा खेल्ने कोठामा राखी कम स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक सुरक्षा उपकरण प्रयोग गरेर मात्रै पोष्टमार्टम गर्नुपर्छ। साथै मृतकको धर्मअनुसार शवको सम्मान गर्दै उनका आफन्तहरु समेतलाई सुरक्षित राख्नुपर्ने उल्लेख गरिएकाे छ।

 

प्रकाशित मिति: May 16, 2020

प्रतिक्रिया दिनुहोस्