Logo
२९ आश्विन २०८१, मंगलबार
(May 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुत्केरीको मृत्युबारे स्वास्थ्य मन्त्रालयले थाल्यो अध्ययन, महिलाको परिवारको स्वाब संकलन

धुलिखेल अस्तपालमा मृत्यु भएकी महिलाको आफन्तको स्वाब निकालेर परीक्षण सुरु गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षिया महिलाको बिहीबार राति १० बजे उपचारको क्रममा मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको मृत्यु कोरोना भाइरस (कोभिड-१९) का कारण भए/नभएको अध्ययन गर्ने भएको छ ।

२९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको थियो । २३ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर उनी २५ गते घर फर्किएकी थिइन् ।

ज्वरो आउने र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पताल हुँदै धुलिखेल आइपुगेकी उनको बिहीबार निधन भयो ।

अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । तर मन्त्रालयले कोभिड-१९ का कारण मृत्यु भए नभएको थप अध्ययन भइरहेको बताएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

सुत्केरी महिलाको मृत्युका सम्बन्धमा शनिबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. देवकोटाले दिएको जानकारी यस्तो छ : 

सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिला बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो ।

२४ गते उहाँको (नर्मल डेरीभरी) सुत्केरी भएको विवरण हामीलाई सो अस्पतालबाट प्राप्त भएको छ ।

र, उहाँ २५ गते डिस्चार्ज हुनुभएको थियो । त्यसपछि उहाँ सिन्धुपाल्चोक आफ्नो घर जानुभएको थियो । 

घर गइसकेपछि ज्वरो, स्वास प्रश्वासमा समस्या लगायतका शारीरिक समस्या भएपछि उहाँले स्थानीय अस्पतालमा उपचार गराउनुभएको कुरा हामीलाई जानकारीमा आएको छ ।

र, उहाँको स्थिति जटिल बन्दै जाँदा उहाँ धुलीखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको खबर हामीले पाएका छौं । यस सम्बन्धमा हामीले थप विस्तृत विवरणहरु लिइरहेका छौं ।

र, कोभिड १९ सँग सम्बन्धित थप परीक्षणहरु भइरहेका छन् । यो परीक्षणहरुको र सम्पूर्ण विवरणहरु प्राप्त भइसकेपछि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रुपमा कोभिड १९ सँगको सम्बन्धित मृत्यु हो वा होइन भन्ने कुरा निर्क्याेल गरेर प्रसारण गर्ने व्यहोरा सबैलाई म जानकारी गराउँछु ।

प्रकाशित मिति: May 16, 2020

प्रतिक्रिया दिनुहोस्