Logo
६ बैशाख २०८१, बिहीबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना बिरामीको उपचारमा स्वास्थ्यकर्मी अपुग, सरकारद्वारा ७ दिनका लागि विज्ञापन अह्वान

कोभिड-१९ का सम्भावित बिरामीको उपचारका लागि चिकित्सक तथा नर्सको कमी भएको र त्यसको व्यवस्थापन चाँडो भन्दा चाँडो गर्न सरकारलाई चौतर्फी दबाब परिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ सय नर्स र ३४ जना चिकित्सकलाई करारमा भर्ना गर्ने योजना अघि सारेको छ।

सरकारद्धारा कोभिड–१९ को उपचारका लागि लक्षित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल लगायत सरकारी अस्पतालले यो संक्रमणको उपचारमा खटिने चिकित्सक तथा नर्सहरु आफूहरुसँग निकै कम भएको भन्दै त्यसको व्यवस्थापन गर्न मन्त्रालयलाई पटकपटक आग्रह गरेका थिए।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै विश्वव्यापी महामारीकोरुप लिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि चिकित्सक र नर्सहरुको आवश्यकता परेकाले इच्छुकले सात दिनभित्र आफ्नो शैक्षिक प्रमाणपत्रसहित मन्त्रालयमा आवेदन दिन आग्रह गरेको हो।

यस्तै कोभिड–१९ को उपचारका लागि मात्रै तयार गर्न थालिएको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालका लागि आवश्यक चिकित्सक तथा नर्सहरु जुटाउन सरकारलाई हम्मेहम्मे परेको छ।

लामो समयसम्म जनशक्ति अपर्याप्त रहेका सरकारी अस्पतालमा कोभिड–१९ को उपचारका लागि करारमा चिकित्सक तथा नर्सहरु कति आउँछन् त्यो पनि चुनौतिको विषय भएको वीर अस्पतालका एक चिकित्सकले बताए।

उनले भने, ‘चिकित्सकका लागि आवश्यक सेवा सुविधा, सुरक्षा सामाग्री लगायत व्यवस्थापनमा सरकारको कमजोर देखिएको छ । यस्तो बेला जनशक्ति माग मात्रै गर्दा यस्तो जोखिमपूर्ण अवस्थामा निकै कम चिकित्सक र नर्स आउन सक्छन्।

मन्त्रालयले तोकेको मितिमा यति ठूलो संख्यामा चिकित्सक र नर्सहरुले आवेदन दिन्छन् भन्नेमा मन्त्रालयका अधिकारीहरु नै विश्वस्त छैनन्। करारमा राखेका चिकित्सक र नर्सहरुलाई कोभिड–१९ को उपचारबारे तालिम दिनुपर्ने हुन्छ । त्यसका लागि पनि समय लाग्ने देखिन्छ।

‘यसै पनि कोभिड–१९ को उपचारलाई लिएर नयाँ आएका चिकित्सक र नर्सहरुलाई तालिमको आवश्यकता पर्छ । तालिम बिनै कसैले उपचार गर्छ भने उ पनि क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था छ। सरकार यसमा गम्भीर हुनुपर्छ।’ मन्त्रालयका एक कर्मचारीले भने।

कोभिड–१९का सम्भावित सिकिस्त बिरामीको उपचारका लागि त सरकारसँग झनै कम जनशक्ति छन्। ‘क्रिटिकल कियर’ युनिटमा काम गर्ने चिकित्सक सरकारसँग जम्मा १२ जना मात्रै छन्।

यस्तै तालिम प्राप्त नर्सहरुको संख्या पनि निकै कम छ। त्यस्तै हाल कार्यरत नर्सहरु र स्वास्थ्यकर्मीलाई तालिमको अभाव भएको गुनासो पनि ब्यापकरुपमा उठ्दै आएको छ।

प्रकाशित मिति: Mar 26, 2020

प्रतिक्रिया दिनुहोस्