Logo
२६ भाद्र २०८१, बुधबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वडा कार्यलय निर्माणका लागि धौलागिरि गाउँपालिकाले पायो निशुल्क जग्गा

गण्डकी प्रदेश स्थित म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको वडा कार्यालय भवन निर्माण गर्न लिलबहादुर पुन र थमबहादुर पुनले तीन रोपनी जग्गा उपलब्ध गराएका छन् । कुम्रीमा भवन बनाउन पुनद्वयले उपलब्ध गराएको जग्गाको मूल्य स्थानीय बजार भाउअनुसार ४ लाख अनुमान गरिएको वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

लिलबहादुरले एक रोपनी छ आना जग्गा बिहीबार मालपोत कार्यालयबाट वडा कार्यालयको नाममा पास गरिदिएका छन् । जग्गा उपलब्ध गराउने घोषणा र समझदारी गरिसकेका थमबहादुरबाट राजीनामा पास हुने प्रक्रियामा छ ।

जग्गा व्यवस्थापन गरेर भवन निर्माणको तयारी गरिएको वडाध्यक्ष सुवेदीले बताए । हाल मराङको वडा कार्यालय कुम्रीस्थित प्रगतिशील आमा समूहको भवनबाट सञ्चालन हुँदै आएको छ । वडा कार्यालय भवन बनाउन आगामी वर्षका लागि बजेट माग गरिने वडाध्यक्ष सुवेदीले बताए । ।

धौलागिरि गाउँपालिकाको अधिकांश वडा कार्यालयको आफ्नै भवन छैन । मुनास्थित तत्कालीन मुना गाविसको भवनमा गाउँपालिकाको कार्यालय राखिएको छ । पुरानो सामुदायिक भवनको एउटा कोठामा वडा कार्यालय सञ्चालन भएको छ ।

गुर्जाको वडा कार्यालय सामुदायिक भवनबाट सञ्चालन भएको छ । लुलाङको वडा कार्यालय भवन बनाउन जग्गा व्यवस्थापन गरी ठेक्का प्रक्रिया शुरु गरिएको अध्यक्ष थमसरा पुनले बताउए । मुदीको ४ नम्बर वडा कार्यालय पशु सेवा केन्द्रका लागि बनाइएको भवनबाट सञ्चालन भएको छ ।

मल्कवाङको ५ नम्बर वडा कार्यालय भाडाको घरबाट सञ्चालन भएको छ । ताकमको ७ नम्बर वडा कार्यालय भवन तत्कालीन आरसीयुपी परियोजनाले बनाएको भवनमा राखिएको छ । स्थायी केन्द्र कायम भएको वडा नं ३ मा पर्ने घट्टेकुलोमा गाउँपालिकाको भवन बनाउन जग्गा प्राप्तिको प्रक्रियामा छ ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्