Logo
२८ भाद्र २०८१, शुक्रबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय १५ दिनसम्ममा पनि भएन लागु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयको १५ दिन व्यतीत भइसक्दा पनि नेतृत्वको ध्यान पार्टी एकताका थाती रहेका काम पूरा गर्नेतिर नदेखिएपछि केन्द्रीय सदस्यहरू निराश देखिन थालेका छन् ।

माघ १५ देखि १९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटीको बैठकले १५ दिनभित्र पार्टी एकताको बाँकी काम पूरा गर्ने निर्णय गरेको थियो ।जिम्मेवारी नपाएका केन्द्रीय कमिटीका सदस्यहरू उत्साहित भएर कार्यक्षेत्र फर्किएका थिए ।

केन्द्रीय कमिटीको निर्णय कार्यान्वयन गर्न किन ढिलाइ भएको हो भनेर केन्द्रीय सदस्यले प्रश्न उठाउन थालेका छन् । नेकपाको ३२ वटै विभागले आकार लिन बाँकी छ ।

केन्द्रीय निकाय ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, अनुशासन, निर्वाचन, लेखा आयोग र प्रवास कमिटीले पूर्णता पाउन बाँकी छ । विशेष जिल्ला कमिटी र सम्पर्क समन्वय कमिटीले पनि नेतृत्व त पाएका छन् तर सदस्यहरू मनोनीत नहुँदा कामको विन्यास हुन सकेको छैन ।

“माघ १९ गते सम्पन्न नेकपा केन्द्रीय कमिटीको बैठकमा सचिवालयका तर्फबाट अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डले दिएको जवाफमा प्रस्ट रुपमा भनिएको थियो, ‘आगामी १५ दिनभित्र पार्टी एकताका बाँकी कामहरू पूरा गरिनेछ’।

यसबाट उत्साहित भएर केन्द्रीय सदस्यहरू फर्किएका थिए तर पूरा भएन,” नेकपा केन्द्रीय सदस्य तथा विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजाल भन्छन् ।

पार्टी एकता बेलैमा नटुङ्गिदा जारी अभियानमा प्रश्न उठेको उनको भनाइ छ । नेकपाले फागुनदेखि तीन महिने अभियान सञ्चालन गरिरहेको छ ।

पार्टी एकतालाई आधारभूत तहसम्म विस्तार गर्ने, कमिटीका भेला, बैठक राख्ने, कमिटीलाई चलायमान बनाउने उद्देश्य लिए पनि एकताकै अध्याय नसकिएकाले अभियानले सार्थकता पाउनेमा केन्द्रीय सदस्यले संशय व्यक्त गरेका छन् ।

“अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र विभागहरूलाई पूर्णता दिएर नेता कार्यकर्तालाई जिम्मेवारी दिन नेतृत्वको ध्यान किन नगइरहेको होला ? प्रदेशस्तरीय कार्यकर्ता भेलाहरू चलिरहेको बेला उठ्ने प्रश्नलाई नेतृत्वले ध्यान दिनुपर्ने हो,” रिजाल नेतृत्वलाई प्रश्न गर्छन् ।

नेकपाले २०७५ जेठ ३ गते पार्टी एकता घोषणा गर्दा तीन महिनाभित्र पार्टी एकता पूरा गर्ने बताएका थियो । त्यसयता नेकपाले किस्ताकिस्तामा पार्टी एकताको काम सक्दै आएको छ ।

२२ महिना पूरा भइसक्दा पनि एकता पूरा नभएकाले एकता महाधिवेशन पनि बेलैमा नहुने हो कि भन्ने चिन्ता छ । केन्द्रीय कमिटी बैठकले २०७७ चैत २५–३० एकता महाधिवेशन गर्ने मिति तय गरिसकेको छ ।

केन्द्रीय सदस्य रिजाल नेताहरू मूल विषयम अन्यत्र लाग्न थालेको बताउँछन् । गत फागनु १० गते नेकपा सचिवालय बैठक बसेको थियो । केन्द्रीय सदस्यहरूले पार्टी एकताका बाँकी काम पूरा गर्न नेतृत्वको ध्यानकर्षण होला ठानेका थिए ।

तर, राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनेगरी संविधान संशोधनको कार्यदल बनाउनेतिर सचिवालय अघि बढेपछि मूल विषय किनार लागेको केही केन्द्रीय सदस्यको बुझाइ छ ।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्