Logo
२२ भाद्र २०८१, शनिबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदार विरुद्ध मुद्दा चलेपछि सरकारप्रति काँग्रेस आक्रमक, छायाँ सरकार फेरि सकृय

पछिल्लो दुई वर्षदेखि हदैसम्मको अनियमितताको आशंकाहरु भइरहँदा पनि मौन रहेको नेपाली कांग्रेस एकाएक सरकारविरुद्ध खनिएको छ ।

आफ्ना उपसभापति विजयकुमार गच्छदार विरुद्ध मुद्दा दायर भएपछि सरकारप्रति नेपाली कांग्रेस आक्रमक देखिएका हुन् ।  नेपाली काँग्रेसको छायाँ सरकारको बैठक बसेर देशमा भइरहेको भ्रष्टाचार र अनियमितताका घटनाको अध्ययन गरी सार्वजनिक गर्ने निर्णय गर्यो ।

आज काँग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयप्रति धेरैको ध्यान गएको छ । काँग्रेसको छायाँ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं छन् । जो पटक पटक प्रधानमन्त्री भइसकेका हुन् ।

उनको पालामा पनि भ्रष्टाचारका धेरै काण्ड बाहिर आएको थियो । देशमा विगत दुई वर्षभित्र धेरै भ्रष्टाचार र अनियमितताका विषय बाहिर आए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साना माछा मात्र समातेको आरोप खेप्यो ।

पछिल्लो समय ललिता निवासको जग्गा प्रकरणमा हाइप्रोफाइल नाम नै आयो । जसमा काँग्रेस उपसभापति विजयकुमार गच्छेदार समेत थिए । गच्छेदारमाथि अख्तियारले मुद्दा दायर गरेको छ ।

देशमा अर्बौंको कल छली देखि ठेक्कापट्टा, सामाग्री खरिद देखि दूरसञ्चारसम्बन्धि सम्झौतामा अरबौंको अनियमितता भएको खुल्दै गएको छ ।

पछिल्लो समय उठेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा गोकुल बाँस्कोटा मन्त्री पदबाट राजीनामा दिन वाध्य भए ।

प्रधानमन्त्री केपी शर्मा ओली समेत यस घटनामा मुछिएको आरोपहरु लागिरहेको छ । कतिपय गम्भीर विषयहरु खुलिरहेका छन् जसको जवाफ प्रधानमन्त्रीले दिएका छैनन् ।

अर्कोतर्फ, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद सभापति रहेको सार्वजनिक लेखा समितिको टिम नै विवादमा परेको छ । देशमा भएका ठूला अनियमिततामा सत्तापक्ष र प्रतिपक्ष समेत मिलेको आरोपहरु लागिरहेको छ ।

मिलेर व्यापारिको स्वार्थमा नेताहरु संचालित भएको विषय बाहिर आइरहेको छ । यस्तो अवस्थामा काँग्रेसले भ्रष्टाचारबारे कसरी खुलासा गर्ला र अध्ययन गरेर कसरी वास्तविकता बाहिर ल्याउला शंकाको विषय बनेको छ ।

वाइडबडी देखि दूरसञ्चार कम्पनिहरुको कर छली प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष दुवै मौन बसे । विगतमा भएका ठूला भ्रष्टाचारका घटना त्यत्तिकै गुपचुप पारियो ।

तर, पछिल्लो समय लहरो तान्दा पहरो झरिरहँदा सत्तापक्ष र प्रतिपक्ष दुवैबाट अनियमितताको घटनाहरु बाहिर आउनसक्ने माहोल बन्दैछ । यदि मिलेमतोमा यी घटना लुकाइएन भने नेपालमा भ्रष्टाचारको भयावह दृश्य जनतासामु देखापर्न सक्छ ।

यसमा काँग्रेसले हिम्मत देखाउन सक्छ कि सक्दैन ? प्रतिक्षाको विषय छ ।

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्