Logo
२७ भाद्र २०८१, बिहीबार
(February 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिनाथमा १ सय ४१ किलो सुनको भव्य जलहरी !

पशुपतिनाथ मन्दिरमा एक अर्ब रुपैयाँको जलहरी राखिने भएको छ। गर्भगृहमा पुजिने शिवलिंग राखिने जलहरी सुनको बनाइने भएको हो। पशुपति क्षेत्र विकास कोषले १ सय ४१ किलो सुनको भव्य जलहरी बनाउने भएको हो। सुनको आजको दरभाउअनुसार ९१ करोड ८७ लाख २४ हजार दुई सय ७५ रुपैयाँ लगानी गरेर जलहरी बनाउने भएको छ। यसअघि यो जलहरी चाँदीको छ।

हाल सञ्चालनमा रहेको चाँदीको जलहरी जीर्ण भएर चारैतिरबाट चुहिने भएपछि नयाँ बनाउने क्रममा कोषले सुनको बनाउन लागेको हो। यसका लागि कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाको संयोजकत्वमा १० सदस्यीय श्रीको जलहरी निर्माण व्यवस्था समिति गठन गरिएको छ। यसमा मूलभट्टसहित चार भट्टलाई सल्लाहकार राखिएको छ। डा. थापाले परिषद्को बैठकले १ सय ४१ किलोको सुनको जलहरी राख्ने निर्णय गरेर काम अगाडि बढाउने विषय पारित गरेको जानकारी दिए। उनले अन्नपूर्णसँग भने, ‘जलहरी निर्माणका लागि भक्तजन र दातालाई सार्वजनिक सूचनामार्फत आह्वान गर्दै छौं। उनीहरूले आफूले सुन खरिद गर्न चाहेको रकम बैंकमा जम्मा गर्न सक्नेछन्।’

दाताले एक तोला सुन बराबरको रकम वा सोभन्दा कम रकम सोही दिन चलेको सुनको मूल्यांकन दररेटअनुसारको रकम कोषले तोकेको बैंकमा जम्मा गर्न सक्नेछन्। कोषले यसका लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल एसबीआई बैंकमा खाताको व्यवस्था गर्दैछ। भक्तजन÷दाताले एक तोलाभन्दा माथि जति तोलासम्म पनि अर्पण गर्न सक्ने प्रावधान राखिएको छ। एक तोला सुनबराबरको रकम जम्मा गर्ने दाताको नाउँ अभिलेख पुस्तिकामा समावेश गरिनेछ भने नाम गोप्य राख्नेको नाम स्मारिकामा उल्लेख गरिनेछैन। दाताले सुन खरिदका लागि बैंकमा जम्मा गरेको भौचर कोषलाई उपलब्ध गराए कोषको आधिकारिक वेबसाइटमा राखिने भएको छ।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले एक वर्षभित्र यो काम गर्ने गरी काम अघि बढाएको जानकारी दिँदै भने, ‘ श्रीलाई चढाउने वस्तु पवित्र चाहिन्छ, सुन धातुमा पवित्रमात्र नभएर सर्वोत्कृष्ट हो। बहुमूल्य हुने जलहरीको आफैंमा महिमा र गरिमा विशेष हुने भएकाले अर्पण गर्न लागेका हौं।’ जलधारामा पानी वा दूध हालेपछि शिवलिंगमा पर्छ। पञ्चामृतलगायतले नुहाउँदा पोखिने समेतको सबै तरल पदार्थ जलहरीमा जम्मा हुन्छ र भरिएपछि ब्रह्मनाल हुँदै बागमती नदीमा मिसिन्छ। यो काम उत्कृष्ट र ऐतिहासिक हुने ढकालको भनाइ छ। नापजाँच गर्दा शिवलिंग अटाउने जलहरी बनाउन १ सय ४१ किलो सुन चाहिने उनको भनाइ छ। उनले भने, ‘यदि अनुमानभन्दा बढी सुन आए पशुपतिको गजुर, बसाहा लगायतमा मोलम्बा लगाउने काम हुनेछ भने कम भए कोषले व्यहोर्नेछ।’

कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले यसअघि विक्रमको १८औं शताब्दीमा शाहकालीन सदस्यले चाँदीको जलहरी चढाएको जानकारी दिए। ‘पुरानो भएपछि फेर्न सोच बनाएर २०७० सालमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि सुझाव लिएका थियौं, उहाँले सुनको बनाउन पाए राम्रो हुन्छ, के कति लाग्छ भनेर सोध्नुभएको थियो’, उनले भने, ‘तर त्यो काम अघि बढाउन पाएनौं।’ पशुपतिनाथमा शिवलिंग माथिको जलधारा, पूजामा प्रयोग हुने गरगहना, सिक्री, माला, थाल आदि सुनका छन् भने बजाउने शंख पनि सुनले मोडेको र जल चढाउने शंख अर्थात् आदिकलश पनि सुनले मोडेको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: Feb 9, 2020

प्रतिक्रिया दिनुहोस्