Logo
६ बैशाख २०८१, बिहीबार
(January 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिहापछि प्रहरीको प्रशंसा गर्दै आस्था राउतले भनिन्,-‘यो घटनाले सबक सिकायो’

चार हजार रुपैयाँ धरौटी तिरेर काठमाडौँ जिल्ला प्रशासनबाट मंगलबार दिउँसो रिहा भएकी गायिका आस्था राउतले प्रहरीले आफूमाथि उदारता र लचकता देखाएको बताएकी छन्।

उनले आफूले ‘प्रहरी मेरो साथी’ भन्ने नारामा आफूले प्रश्न उठाउनु गलत रहेको जिकिर पनि गरिन्। सामाजिक सञ्जाल वा सार्वजनिक स्थानमा बोल्दा सबैले संयमता अपनाउनुपर्ने समेत उनले सञ्चारकर्मीहरुसँग बताइन्।

उनले आफ्नो विषयलाई मिडियामा अतिरञ्जनापूर्वक प्रस्तुत नगर्न पनि सबैसँग आग्रह गरिन्। उनले भनिन्, ‘कानुनभन्दा माथि कोही छैन, न प्रहरी, न कलाकार, न अरु कोही, गलत गरेपछि सबै कानुनको दायरामा आउनैपर्छ।’

उनले यो घटनाले आफूलाई मात्र होइन, सबै नेपालीलाई ‘सबक’ सिकाएको पनि बताइन्। आफूलाई युट्युब खोल्दा ज्वरो आउने उल्लेख गर्दै राउतले भनिन्, ‘बुम बोकेरमात्र हुँदैन, पत्रकारहरुले पनि अलिअलि पढिदिनुस्। कुरा बुझेरमात्र लेखिदिनुस्।’

अभद्र व्यवहार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई काठमाडौँ जिल्ला प्रशासनले ४ हजार रुपैयाँ धरौटीमा मंगलबार दिउँसो रिहा गरेको हो।

प्रहरीले उनीबिरुद्ध मंगलबार नै जिल्ला प्रशासन कार्यालयमा अभियोग पत्र दर्ता गरेको थियो। अभियोग पत्र दर्ता भएसँगै प्रहरीले राउतलाई थुनछेक प्रयोजनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय पुर्‍याएको थियो।

प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार राउतलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

आस्था राउत सोमबार बिहान आफै प्रहरी परिसर काठमाडौँ पुगेकी थिइन्। त्यसपछि प्रहरीले अनुसन्धानका लागि थप समय माग गर्दै राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गरेको थियो।

परिवारका सदस्यसहित प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्। गायिका राउत आइतबार बेलुका भारतबाट नेपाल आएकी हुन्। आस्थामाथि प्रहरीले बदला लिन खोजेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।

प्रकाशित मिति: Jan 28, 2020

प्रतिक्रिया दिनुहोस्