Logo
४ आश्विन २०८१, शुक्रबार
(January 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनैतिक क्रियाकलापमा लाग्ने ७२१ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ : मुलुकको राष्ट्रिय बसपार्कका रूपमा रहेको गोङ्गबुँस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ ।

देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति र लुटपाटको अन्त्यका लागि शुद्धीकरण अभियान सञ्चालन गरिएको हो ।

होटल मिलाइदिने भन्दै यात्रुलाई जबर्जस्ती तानेर दुःख दिने बिचौलिया, क्याबिन रेष्टुरेन्टमा बढी रकम लिएर ठगी गर्ने, दोहोरी साँझ सञ्चालनको नाममा सुतेका व्यक्तिलाई ‘डिस्टर्व’ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको छ । प्रहरीले सोमबार मात्र होटल तथा रेष्टुरेन्ट सञ्चालक र बिचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मित्रनगर देउराली खाजाघरका सञ्चालक जितेन्द्रप्रसाद कँडेल, रिलेशन रेष्टुरेन्टका सञ्चालक प्रेमबहादुर अछामी, मनोज खाजाघरका सञ्चालक नवीन तामाङ, सृष्टि सुब्बा खाजाघरका सञ्चालक धनबहादुर लिम्बू र बागलुङ कालिका खाजाघरका सञ्चालक कुमारी थापा छन् ।

पक्राउ पर्ने बिचौलियामा राजेश सुनार, मिलन तामाङ, सुवास तामाङ, प्रेम तामाङ, करन सापकोटा, नरेन्द्र किसान र सुरेश तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सामुदायिक सेवा केन्द्र गोङ्गबुँ, काठमाडौँ महानगरपालिका-२६, टोखा नगरपालिका-९ र नयाँ बसपार्क क्षेत्रमा क्रियाशील सङ्घसंस्थाको सहकार्यमा गोङ्गबुँ नयाँ बसपार्क क्षेत्रमा हुने विकृति अन्त्यका लागि सामूहिक जाँच तथा प्रचारप्रसारलाई तीव्र पारेको छ ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले चार महिनाको अवधिमा नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा लाग्ने ७२१ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको बताए ।

“नियन्त्रणमा लिइएका ७२१ मध्ये २६१ लाई अभद्र व्यवहार, चोरी, मानव बेचबिखन र लागुऔषध कारोवारमा मुद्दा चलाएका छौँ”, उनले भने । मुद्दा चलाइएकामध्ये २०६ पुरुष, ३४ महिला र २१ तेस्रोलिङ्गी छन् ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाउन नयाँ बसपार्कभित्रको विकृति, विसङ्गति अन्त्य गर्नुपर्ने बताए ।

“नयाँ बसपार्क विस्तारै सुध्रिँदै गएको छ, बसपार्क क्षेत्रमा हुने अनैतिक क्रियाकलाप र बिचौलिया रोक्नु जरुरी छ”, उनको भनाइ थियो ।

नयाँ बसपार्क क्षेत्र रहेको काठमाडौँ महानगरपालिका-२६ का अध्यक्ष ख्यामराज तिवारीले ठमेल आउने पर्यटकलाई बसपार्कमा आउने वातावरण निर्माण गर्नेगरी नयाँ बसपार्कलाई सुधार गर्नुपर्ने बताए । “नयाँ बसपार्क क्षेत्र सुधार भएर पर्यटक आएमा यस क्षेत्रका बासिन्दाको आम्दानीसमेत वृद्धि हुन्छ”, उनले भने ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले गोङ्गबुँ क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिएको बताए ।

“नयाँ बसपार्कलाई व्यवस्थित बनाउनु हामी सबैको दायित्व हो, बसपार्क व्यवस्थित भए मात्र राजधानी व्यवस्थित हुन्छ”, उनले भने । कूल १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा देशका विभिन्न भागबाट दैनिक एक हजारभन्दा बढी बस आवतजावत गर्दै आएका छन् ।

नयाँ बसपार्क क्षेत्रमा हाल ५०० भन्दा बढी होटल, ५० भन्दा बढी दोहोरी साँझ रेस्टुरेन्ट र एक हजारभन्दा बढी खाजाघर सञ्चालनमा छन् ।

प्रकाशित मिति: Jan 21, 2020

प्रतिक्रिया दिनुहोस्