Logo
१५ चैत्र २०८०, बिहीबार
(January 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक साता अघि सिन्धुपाल्चोक पुगेका प्रचण्ड फेरी किन गए चितवन !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सभामुख उम्मेदवार चयनको विषयलाई लिएर विवाद चलिरहेको बेला पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो गृहजिल्ला चितवनतिर लागेका छन् ।

पूर्वसभामुख कृष्णबहादुर महराले गम्भीर आरोप खेप्दै सभामुख पदबाट असोज १४ मा राजीनामा दिएपछि हाल सम्म सभामुख पद रिक्त रहेको छ । तर नेकपाले अहिले सम्म नयाँ सभामुखका उमम्देवार तोक्न सकेको छैन।

यद्यपि राष्ट्रिय राजनीति कुनै ठूलो घटनाक्रममा अल्झेको बेला प्रचण्ड कहिले सिन्धुपाल्चोक त कहिले चितवन जाने गरेका छन् । ‘रिफ्रेस’ हुनका लागि भन्दै १ साताअघि प्रचण्ड सिन्धुपाल्चोक पुगेका थिए । सभामुखका आकांक्षी मानिएका आफूनिकट नेता अग्नि सापकोटालाई लिएर सिन्धुपाल्चोकको कदमवासमा रात बिताएर उनी भोलिपल्ट राजधानी फर्के ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटाले चितवनमा थारू समुदायले आयोजना गरेको प्रथम माडी खिचरा महोत्सवमा सहभागी हुन त्यतातिर जान लागेको बताएका छन् । ‘सामान्य कार्यक्रम हो, सहभागी भएर आजै (मंगलवार) फर्किने कार्यक्रम रहेको छ,’ सापकोटाले भने ।

सिन्धुपाल्चोक जानुभन्दा अघिल्लो दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए ।प्रचण्डले एकातिर सभामुख चयनको विषयलाई लिएर पार्टी्भित्र चर्किरहेको द्वन्द्वको असर र अर्काेतिर संक्रमणकालीन न्यायका सन्दर्भमा परेको दबाब झेलिरहेका छन् ।

मंगलवार प्रचण्ड चितवन जानुको कारण पनि ‘रिफ्रेसमेन्ट’ रहेको उनीनिकट एक नेताले बताए । ‘धेरै काम गरेपछि थकान हुन्छ नै, एक दिनका लागि भएपनि थकान मेट्न उहाँ कहिले कता, कहिले कता गइरहनुहुन्छ,’ ती नेताले भने, ‘यो चर्चा र बहसको विषय नै होइन । चितवन उहाँको गृहजिल्ला हो, त्यहाँका जनतासँग उहाँको विशेष लगाव छ । त्यसैले जान लाग्नुभएको हो ।’

प्रकाशित मिति: Jan 14, 2020

प्रतिक्रिया दिनुहोस्