Logo
१३ बैशाख २०८१, बिहीबार
(January 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माघी पर्वको अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना सन्देश

थारु समुदायको प्रमूख चाड माघी तथा नेपालका सबैजसो भू-भागमा मनाईने माघे संक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धमा प्रवेश गर्ने समयमा हरेक वर्षको माघ एक गते देशका विभिन्न भागमा विभिन्न तरिकाले मनाइने यस पर्वका अवसरमा सुस्वास्थ्य सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश हो ।

यहाँ प्रचलित पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन् । यस्तो विविधतायुक्त साझा पूँजीलाई हामीले संरक्षण गर्दै आएका छौं ।

सुदृढ एकता र सहिष्णुताको यस पूँजीलाई हामीले देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । हामीले संवैधानिक ब्यवस्था तथा राज्यको नीतिद्वारा नै हाम्रा सांस्कृतिक विविधताको रक्षा गरिरहेका छौं ।

हाम्रो देशका हरेक जातिले मनाउने मौलिक पर्वहरु यहाँको प्राचीन संस्कृतिसँग मात्र होइन प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छन् । यी पर्वहरुले हामीलाई परस्पर सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आवद्ध गरेका छन् ।

माघे संक्रान्तिमा मासको दाल र चामल मिसाइएको खिचडी, घिउ–चाकु–तिलको लड्डु, सागपात, तरुल खाने चलन छ ।

जाडो याममा शरीरलाई तातो राख्ने पोषिला परिकार खाने तथा नदी किनार तथा त्रिवेणीहरुमा स्नान गर्ने यस पर्वको विशेषता शरीर विज्ञानका हिसावले पनि उपयोगी छ ।

माघीलाई थारू जातिको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । पुस मसान्तमा घरघरमा माछामासु र ढिकरी (पिठोको एक परिकार) खाइ रातभर मघौटा नाच नाच्ने चलन छ ।

अन्त्यमा, माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

१ माघ, २०७६                                                              केपी शर्मा ओली

प्रकाशित मिति: Jan 14, 2020

प्रतिक्रिया दिनुहोस्