Logo
१२ बैशाख २०८१, बुधबार
(January 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीको सम्बन्ध विस्तारका लागि सल्यानका गाउँ-गाउँमा प्रहरीको गस्ती

सल्यान : जनतासँग प्रहरीको सम्बन्ध विस्तारका लागि जिल्ला प्रहरी कार्यालय सल्यानले दुरदराज प्रहरी गस्ती अभियान सञ्चालन गरेको छ । जिल्लाका ग्रामीण भेगसम्म राज्यको पहुँच विस्तार तथा जनतासँग प्रहरीको सम्बन्ध विस्तारका लागि भन्दै प्रहरीले गस्ती अभियान थालेको हो।

कुनै घटना तथा कार्यक्रम बाहेक दुरदराजमा प्रहरीको पहुँच पुग्न नसकेको भन्दै जनताको शान्ति सुरक्षा तथा अमनकायम गर्न गस्ती अभियान सञ्चालन गरिएको सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए। उनले भने ‘शहर बजारमा प्रहरीको पहुँच राम्रो रहेको छ तर दुरदराजमा हाम्रो उपस्थिति निकै कम भयो त्यसकारण अभियान सञ्चालन गरेका छौं।’

गस्तीका लागि प्रहरीको पहुँच नपुगेका भनिएका जिल्लाका ३८ स्थान छनौट गरिएको छ। प्रहरीले पानचौर, दार्मकोट, वाफुखोला,गुरुदासे, गर्चे, अवलवेसी, घुइयाबारी, जलजला, छरछरे, कालापातल लगायतका ३८ स्थानमा पहुँच रहेको जनाएको छ। २ घण्टादेखि ८ सम्मको पैदल दुरीमा पर्ने स्थानलाई प्रहरीले दुरदराजको स्थान भनेर वर्गीकरण गरेको छ। सक्रियता देखाउन सातामा एकपटक तोकिएका स्थानमा अनिवार्य प्रहरी पुग्नुका साथै स्थानीय र जनप्रतिनिधिहरुसँग छलफल अन्तरक्रिया गर्नैपर्ने प्रहरी प्रमुख खतिवडाले बताए।

नजिकैका दुई प्रहरी पोष्टबाट तोकिएको स्थानमा पुगेर स्थानीयसँग छलफल, अन्तरक्रिया गरी फोटो खिचेर आउनु पर्नेछ। प्रहरीको पहुँच नभएको भन्दै अपराध गर्ने व्यक्तिहरु लुक्नसक्ने भएकाले पनि त्यस्ता स्थानमा सक्रियता बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: Jan 13, 2020

प्रतिक्रिया दिनुहोस्