Logo
२८ भाद्र २०८१, शुक्रबार
(January 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दमकल जान नसक्ने गल्लीमा आगो निभाउन जडान गरिएका पाइप लाइनको सफल परीक्षण

काठमाडौँ : दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइप लाइनको सफल परीक्षण गरिएको छ ।

महानगरको वडा २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ्याइएको ४ इञ्चे फलामे पाइपबाट परीक्षण गरिएको हो । परीक्षणका क्रममा काठमाडौँ दमकलबाट साइरन बजाउँदै आएका दमकल जनवहाल चोकमा रोकिए । त्यस चोकबाट करीब १०० मिटरभित्र अग्लो घरको चौथो तलामा धुवाँ आइरहेको थियो ।

अग्नि नियन्त्रकहरुले मांसगल्लीको मुखैमा छेउमा भएको फलामे पाइप (इनलेट) मा पाइप जोडे । त्यसपछि कुददै गएर अगाडि रहेको गल्लीमा भएको ड्राइराइजर (नियमित पानीको प्रेसर नभएको, दमकलको पानी राखेर प्रयोग गर्नुपर्ने ठाउँ) मा पाइप जोडे । यति गरेपछि दमकलमा भएको पानी १०० मिटर परको सानो चोकमा पुग्यो ।

यो पानीको प्रयोग गरेर उनीहरुले घरको चौथो तलामा लागेको आगो निभाए । यस क्रममा चोकबाट माथितिर पानी हानिएको थियो भने चौथो तलामै पाइप पु¥याएर पनि आगो नियन्त्रण गरिएको थियो । करीब २०० मिटर लामो यस प्रणालीको बीचका ८ ठाउँमा ड्राइराइडर राखिएका छन् ।

आगलागीका समयमा आवश्यकताअनुसार उपयुक्त ड्राइराइडरमा आगो नियन्त्रणका समयमा प्रयोग हुने पाइप जोड्न सकिनेछ । प्रयोगका समयमा चौथो तलामा आगोबाट घाइते भएका बिरामीलाई अग्नि नियन्त्रकहरुले उद्धार गरेका थिए । उद्धार गरिएका बिरामीलाई भुइँमा पु¥याएर प्राथमिक उपचार गरिएको थियो भने त्यसपछि स्टेचरमा राखेर चोकमा निकालिएको थियो ।

चोकमा एम्बुलेन्स तयार थिए । बिरामीलाई त्यही एम्बुलेन्समा राखेर थप उपचारका लागि अस्पताल पठाइएको थियो । वडा २५ ले गरेको यो प्रयोगमा स्थानीयले बार्दली र छतबाट अवलोकन गरेका थिए । यो प्रणाली नेपाल रेडक्रस सोसाइटीको उत्थानशील नगर प्रबर्धन तथा सहभागिता कार्यक्रमको ५ लाख रुपैयाँ, वडा २५ को विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिबाट २ लाख रुपैयाँ, संघ संस्था र उपभोक्ताको २ लाख ४० हजार ६१२ रुपैयाँ गरी कुल ९ लाख ४० हजार ६१२ रुपैयाँमा केल मांसगल्ली उपभोक्ता समितिले जडान गरेको हो ।

प्रयोग शुरुवात्मा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले इनलेटको मुख खोलेका थिए । मेयर शाक्यसहित भित्री वडाका वडाध्यक्षहरुले प्रयोगको अवलोकन गरेका थिए । अग्नि नियन्त्रण पाइप लाइन प्रयोगको परीक्षणपछि आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख शाक्यले भने, ‘विपद् क्षति न्युनीकरण र विपद् व्यवस्थापन महानगरको उच्च प्राथमिक काम हो । हामीले हरेक नगर सभामा यसका बारेमा गहन छालफल गर्छौं र आवश्यक नीति बनाउने गरेका छौं । दमकल पुग्ने ठाउँ र दमकल पुग्न नसक्ने दुवै ठाउँको आगो नियन्त्रण गर्न छुट्टाछुट्टै नीति अन्तर्गत काम भइरहेको छ ।’

प्रकाशित मिति: Jan 11, 2020

प्रतिक्रिया दिनुहोस्