Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैध खोला उत्खननको विरोध गर्ने ईन्जिनियरिङका विद्यार्थीको टिपरले किचेर हत्या

प्रदेश २ स्थित अवैध ढंगले खोला उत्खननकाे विरोध गर्ने धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको टिपरले ठक्कर दिँदा मृत्यु भएको छ।

स्थानीयका अनुसार महताे भारतमा ईन्जिनियरिङ पढ्दै थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगतै प्रहरी पुगेर शव बरामद गरेको छ। टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।

अहिले घटनास्थलमा स्थानीय भेला भएर घटनाको विरोध गरिरहेका छन्। गिट्टीबालुवा उत्खनन गरिरहेकै ठाउँमा उनको हत्या गरिएकाे आरोप स्थानीयले लगाएका छन्।

आज (शुक्रबार) बिहान अन्दाजी पाँच बजे छिमेकी साथी रोशन यादवसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको हाे।

प्रहरी अधिकारी र स्थानीय प्रत्यक्षदर्शीले लामो समयदेखि उत्खननको विरोध गर्दै आएका महतोको नियोजित रुपमा हत्या गरिएको बताएका छन्।

दीलिपले पहिलादेखि नै अवैध रुपमा हुँदै आएको खोला उत्खनननकाे विरोध गर्दै आएका थिए। सोही कारण क्रसर सञ्चालकले उनको नियाेजित रुपमा हत्या गरेको स्थानीयले बताएका छन्।

घटनाको विरोधमा स्थानीयले मिथला नगरपालिकाको श्रीपुर स्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए।

‘घटनाको प्रकृति हेर्दा नियोजित रुपमा हत्या नै गरेको जस्तो देखिन्छ,’ प्रहरी निरीक्षक रामकुमार यादवले भने। घटना पश्चात् टिपर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: Jan 10, 2020

प्रतिक्रिया दिनुहोस्