राष्ट्रिय ब्याडमिन्टन खेलाडीका रूपमा उदाइरहेकी दीपिका कसरी भईन बलिउडकै स्टार
बलिउड स्टार दीपिका पादुकोण आज, जनवरी ५ बाट ३४ वर्ष पुगेकी छिन् ।सन् १९८६ जनवरी ५ मा डेनमार्कमा जन्मिएकी दीपिकाको परिचय अभिनेत्रीका रूपमा मात्र चर्चामा छैन, उनी एक कुशल भारतीय राष्ट्रिय ब्याडमिन्टन खेलाडी पनि हुन् ।
सन् २००७ मा प्रदर्शनमा आएको फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यु गरेकी दीपिकाले त्यसयता २५ बढी फिल्ममा काम गरिसकेकी छिन् ।
ब्याडमिन्टन खेलाडीका रूपमा उदाइरहेकी दीपिकाको बलिउड डेब्युको प्रसङ्ग केही रोचक छ ।
फिल्म ‘ओम शान्ति ओम’का लागि निर्देशक फराह खान अभिनेत्री खोजिरहेकी थिइन् । फराहले साथी मलाइका आरोडासँग सहयोग माग्दै शाहरुख खानसँग काम गर्न सक्ने कुनै नयाँ मोडल छन् भने सुझाउन अनुरोध गरेकी थिइन् ।
साथीको सहयोगका लागि जब आरोडाले आफ्नी साथी विन्डेल रोड्रिक्सलाई यो कुरा बताइन् । रोड्रिक्स एक ड्रेस डिजाइनरका रूपमा काम गर्थिन् ।
उनै रोड्रिक्सले फिल्मका लागि दीपिकाको सिफारिस गरेकी थिइन् । रोड्रिक्सले दीपिकालाई एक ‘फेसन शो’मा वाक गरेको याद गरेकी थिइन् । त्यो बेला दीपिका मोडलिङमा प्रवेश गरेको करिब दुई वर्ष भएको थियो ।
दीपिका एक कुशल ब्याडमिन्टन प्लेयर भएर पनि अभिनयमा कसरी लागिन्, यो विषयमा पनि आम मानिसलाई कौतुहलता हुन सक्छ ।
दीपिका जतिबेला आफ्नो बुबा प्रकाश पादुकोणको लयमा ब्याडमिन्टन खेलाडी थिइन्, उनले अभिनेत्री बन्ने सपना देखेकी थिइनन् । अनि उनले मोडलिङमा हात हालिन् र अभिनयको माहोल बन्दै गयो ।
उनले दुई वर्षको मोडलिङ अवधिमा धेरै विज्ञापनमा काम गर्ने अवसर प्राप्त गरिसकेकी थिइन् ।जब फिल्मको अफर आयो, उनले आफ्नो बुबाको लय त्यागेर अभिनय क्षेत्र रोजिन् ।
अभिनयमा आउने उनको चाहना थिएन, यद्यपि कर्म गर्दै जाँदा पाएको अवसर उनले गुमाउन चाहिनन् ।
दीपिकाले त्यो समयमा गरेको निर्णय आज आएर सुखद साबित भएको छ । हाल उनी बलिउड उद्योगकै एक उत्कृष्ट र सफल अनि चर्चित अभिनेत्रीका रूपमा स्थापित छिन् ।
पछिल्लो समयको कुरा गर्ने हो भने दीपिका फिल्म ‘छपाक’को प्रमोसनमा व्यस्त छिन् । एसिड आक्रमण पीडितको वास्तविक कथामा आधारित फिल्ममा दीपिका प्रमुख भूमिकामा देखिएकी छिन् ।
यसै क्रममा उनले आफ्नो ३४औं जन्मदिन पनि लखनउमा एसिड आक्रमण पीडितहरूसँग मनाउँदै छिन् ।