लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन नेपाली काँग्रेस सक्षम : डा कोइराला
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताएका छन् ।
नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा आज यहाँ आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न तयार रहेकामा जोड दिए ।
केन्द्रीय सदस्य डा कोइरालाले सरकारले देशमा महँगी र भ्रष्टाचारलाई नियन्त्रण गरी आम जनतालाई अनुभूति दिने किसिमको काम गर्न सुझाव दिए ।
जनताले सरकार कहाँ छन् खोज्न नपरोस् भन्ने दिशातर्फ सरकार गम्भीर हुनुपर्ने भन्दै केन्द्रीय सदस्य कोइरालाले युवा शक्तिले देशलाई अग्रगामीतर्फ लैजानुपर्ने धारणा व्यक्त गरे ।
नेपाल काँग्रेस विराटनगर महानगरपालिका समितिका सभापति एवं महानगरपालिका प्रमुख भीम पराजुलीले युवाहरुको सक्रियताबाट नै नेपालको विकास तीव्र गतिमा हुनेमा जोड दिए ।
कार्यक्रममा काँग्रेस महासमिति सदस्य वसन्त भट्टराई, प्रदेशसभा सदस्य केदार कार्की, शिवनारायण गनगाईं, विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्की लगायतले आफ्नो धारणा राखेका थिए ।