Logo
८ माघ २०८१, मंगलबार
(January 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थीले ५ पाँच महिनासम्म ट्रान्सक्रिप्ट पाएनन्

नेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थीले नतिजा आएको पाँच महिनासम्म पनि ट्रान्सक्रिप्ट पाएका छैनन् । परीक्षा नियन्त्रण कार्यालयको सफ्टवेयरले काम नगरेपछि समस्या भएको हो ।

विश्वविद्यालयले ०७६ जेठमा सञ्चालन गरेको उत्तरमध्यमा परीक्षाको नतिजा भदौमा सार्वजनिक गरेको थियो । नतिजा आएपछि ट्रान्सक्रिप्टका लागि आवेदन दिए पनि अहिलेसम्म पाएका छैनन् । ट्रान्सक्रिप्ट नहुँदा फरक विश्वविद्यालयमा माथिल्लो तहमा अध्ययन गर्न चाहने, विदेश जाने तथा रोजगारीमा समस्या भएको छ ।

काभ्रेका सीताराम कोइरालाले गत भदौमा वाल्मीकि विद्यापीठबाट उत्तरमध्यमा ९प्रमाणपत्र तहसरह० उत्तीर्ण गरेका थिए । अध्ययनका लागि विदेश जाने तयारी गरेका उनी त्यसबाट वञ्चित मात्र भएनन्, माथिल्लो तह अध्ययन गर्नसमेत पाएनन् । ट्रान्सक्रिप्टका लागि फोन गर्दा उल्टै प्रतिप्रश्न सुन्नुपर्ने उनको गुनासो छ ।

‘कहिले सफ्टवेयर आएको छैन, कहिले सर आउनुभएको छैन, कहिले किन हतार गरेको भन्दै उल्टै प्रश्न गर्छन्,’ उनले भने, ‘मैले जापानका लागि तयारी गरेको थिएँ । तर, ट्रान्सक्रिप्ट नहुँदा आवेदन दिन पाइनँ, एक वर्षजति खेर गयो, नेपालकै अरू विश्वविद्यालयमा पढ्न पनि समस्या भयो ।’

परीक्षा नियन्त्रक नीलप्रसाद सापकोटाले पुरानो सफ्टवेयरले ०७५ सम्मको मात्र काम गरेकाले विद्यार्थीलाई ट्रान्सक्रिप्ट दिन ढिलाइ भएको बताए । अहिले नयाँ सफ्टवेयर निर्माण र पुरानो डाटा सार्ने काम भइरहेको उनले बताए । ‘०७६ मा परीक्षा दिएर नतिजा आएको विद्यार्थीलाई ट्रान्सक्रिप्ट दिन ढिलाइ भएको हो,’ अब हामी दिन सक्ने अवस्थामा छौँ,’ सापकोटाले भने । ०७६ अघि उत्तीर्ण विद्यार्थीलाई भने ट्रान्सक्रिप्ट दिन सक्ने उनले बताए । ०६५ मा निर्माण भएको सफ्टवेयरले ०७५ पछिको रेकर्डमा काम गर्न छाडेको छ । अहिले करिब नौ लाखको हाराहारीमा नयाँ सफ्टवेयर निर्माण हुँदै छ ।

नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: Jan 1, 2020

प्रतिक्रिया दिनुहोस्