कोमाबाटै सेवानिवृत्त हुँदै DIG श्रेष्ठ, IGP खनालसँगै बिदा हुने अरु को को ?
डिआइजी राजेन्द्रमान श्रेष्ठ । तीन वर्ष यता कोमामा छन् । १५ साउन २०७३ मा ब्याडमिन्टर खेल्दा खेल्दै ढलेर बेहोस भएका उनको मस्तिष्क निष्कृय भयो । शरीरको सबै अङ्ग भने चलेको छ ।
श्रेष्ठ प्रहरी सेवामा प्रवेश गरे देखि नै होनहार अधिकृतका रुपमा चिनिन्थे । उनी जहाँ जहाँ खटिए त्यहाँ खुबी देखाएर बिदा भए ।
तर, एसएसपी भई पूर्व क्षेत्रमा खटिंदा उत्कृष्ट कार्य गर्दा गर्दै कोमा अवस्थामा काठमाडौं ल्याइए ।
आइजीपी सर्वेन्द्र खनालका ब्याची श्रेष्ठ एसएसपीमा बढुवा हुँदा रमेश खरेल, सर्वेन्द्र खनाल पछि तेस्रो नम्बरमा थिए ।
कोमामा पुगेपछि उनको एक नम्बरको डिआइजी बन्ने दौड रोकिएको थियो । खरेल र खनालबीचको दौडमा खनालले बाजी मारे ।
खरेलले राजीनामा दिएर आइजीपीको दौड छाडे । आइजीपीको दौडमा सर्वेन्द्र खनाल र कुनैबेला चौंथो नम्बरमा रहेका एसएसपी पुष्कर कार्की देखिए । बाजी खनालले नै मारे ।
श्रेष्ठ कोमामा पुगेबाट आइजीपी बन्ने सम्भावनामा पूर्णविरोम लाग्यो । उनी स्वस्थ भएको भए आइजीपी या एआइजी निश्चित रुपमा हुन्थे । कोमामा पुगेपछि उनी केही समय एसएसपी नै रहे ।
श्रेष्ठबारे चासो बढेपछि उनलाई नेपाल सरकारले विशेष पद सृजना गरी ५ भदौ २०७४ मा बढुवा सिफारिश गरिए । उनको बढुवाका लागि वर्तमान आइजीपी खनालले विशेष पहल गरेका थिए ।
गृह मन्त्रालयले नियमावली संशोधन गरेर भएपनि विशेष परिस्थिति भन्दै मन्त्रिपरिषदले बढुवा गरेको थियो । आइजीपी खनालका ब्याची श्रेष्ठ कोमामा हुँदै २९ माघ २०७६ मा सेवानिवृत्त हुँदैछन् ।
कोमामा रहेकाले उनले डिआइजीमा बढुवा भएको जानकारी पाएनन् । सेवानिवृत्त भएको जानकारी पाउन उनी कोमाबाट उठ्नुपर्ने हुन्छ । त्यसैले श्रेष्ठ कोमामै सेवानिवृत्त हुने देखिदैछ ।
श्रेष्ठको उपचार प्रहरी अस्पतालमा भइरहेको छ । तीन वर्षयता कोमामा रहेपनि उनको परिवारले उठ्ने आशा राखेकै छ । कोमामा पुग्नु अघि डिआइजी राजेन्द्रमान श्रेष्ठ खेलप्रेमी थिए ।
नियमित पाँच किलोमिटर दौडन्थे । पाँच किलोमिटर नदौडिई चित्त बुझ्दैन भन्थे । नियमित ब्याडमिन्टन खेल्ने श्रेष्ठको स्थायी घर बाँके हो ।
२०४६ सालमा प्रहरी निरीक्षकबाट सेवारम्भ गरेका उनी कहिले विवादमा परेनन् । विदेशमा समेत देशको प्रतिनिधित्व गरेर पुग्दा अब्बल अधिकृतको परिचय बनाए ।
IGP खनालसँगै बिदा हुने अरु को को ?
आगामी २९ माघमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल अवकाश लिएर घर फर्कँदैछन् । प्रहरी सेवामा ३० वर्षे सेवा अवधिसम्बन्धी व्यवस्थाका कारण उनी जागिरबाट घर फर्किन लागेका हुन् ।
उनीसँगै ब्याचीहरु अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र ठूलो मात्रामा प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूले समेत अवकाशका पाउँदैछन् ।
यी हुन् २९ माघमा अवकाश पाउने उच्च प्रहरी अधिकारी
सर्वेन्द्र खनाल, प्रहरी प्रमुख (आईजीपी)
पुस्कर कार्की (एआईजी)
ठूले राई (एआईजी)
धिरु बस्न्यात (एआईजी)
यसैगरी, डीआईजीहरू राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, शेरबहादुर बस्नेत, केदार रिजाल, नारायणसिंह खड्का, पूर्णचन्द्र जोशी, कमल जिटी, दानसिंह बोहरा, हरिभक्त प्रजापति, रामप्रसाद श्रेष्ठ, पिताम्बर अधिकारी, बिनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, दीपक थापा, सुरेशविक्रम शाह, महेशविक्रम शाह, महेन्द्र पोखरेल, सुरज केसी, दिनेश अमात्यसहितले अनिवार्य अवकाश पाउँदैछन् ।
अवकाश पाउन लागेका आईजीपीसहित एआईजी र डीआईजीहरू २९ माघ २०४६ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।आईजीपी र एआईजीहरूले एक साथ अवकाश पाउने भएपछि आईजीपी र एआईजीमा बढुवाका लागि डिआईजीहरूको दौडधुप सुरु भएको छ ।
आईजीपीका लागि प्रदेश-१ प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवाली, सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी तारणीप्रसाद लम्साल, आईजीपी सचिवालयका डीआईजी सूर्य उपाध्यायले लविङ शुरु गरेका छन् ।
उनीहरू आईजीपी सर्वेन्द्र खनालका वैकल्पिक ब्याची हुन् । तीनै जनाले २५ असार २०४७ बाट प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । उनीहरूमध्ये आईजीपी हुनेको पदावधि पाँच महिना मात्र हुने छ ।
पाँच पहिनापछि उनीहरूसमेत ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने छन् । उच्च प्रहरी स्रोतका अनुसार आईजीपीका सबैभन्दा बलिया पात्र ठाकूरप्रसाद ज्ञवाली हुन् ।
वरिष्ठताको आधारमा लम्साल र उपाध्याय भन्दा ज्ञवाली अगाडि छन् । स्रोतका अनुसार सत्तारुढ दलका नेताहरुसँग समेत उनको हिमचिम राम्रो छ ।
एआईजीमा रोचक प्रतिस्पर्धा
आईजीपीसँगै एआईजीहरू पुस्कर कार्की, ठूले राई र धिरु बस्न्यातले पनि अवकाश पाउँदैछन् । त्यसैले एआईजी बढुवाको प्रतिस्पर्धा रोचक बनेको छ ।
२९ माघपछि हुने आईजीपीको पदावधि जम्मा पाँच महिना मात्र हुने भएपछि एआईजीको प्रतिस्पर्धा रोचक बनेको हो । खनालको वैकल्पिक ब्याचीको अवकाशपछि अहिले बढुवामा परेका एआईजीमध्ये एक जना आईजीपी हुनेछन् ।
त्यसकारण अहिले एआईजी हुने पछि आईजीपीको दाबेदार हुन्छन् । आईजीपीको दौडबाट तीनमध्ये दुई डीआईजी बाहिरिन्छन् । उनीहरू एआईजीका दाबेदार हुन् ।
यसैगरी, एआईजीका लागि विशेष ब्युरोका प्रमूख डीआईजी हरिबहादुर पाल, प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख निरज शाही र प्रदेश २ प्रमुख प्रद्युम्न कार्कीबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
उनीहरूमध्ये पाल र क्षेत्रीको सम्भावना बढी छ । वरिष्ठताको आधारमा शाही र कार्कीभन्दा पाल र क्षेत्री अगाडि छन् । २९ माघमा एआईजीमा पाल र क्षेत्री बढुवा भए २५ असारपछि उनीहरूमध्ये एक जना आईजीपी बन्ने छन् ।
प्रहरी स्रोतका अनुसार प्रदेश-२ को प्रमुख हुँदा उकृष्ट काम गरेको भन्दै प्रशंसा पाएका पाल एआईजीका सबैभन्दा बलिया प्रतिस्पर्धी हुन् ।
विशेष ब्युरोमा आएपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सयौं नेता तथा कार्यकर्तालाई पक्राउ गरेका पालको सम्भावना अलि बढी रहेको प्रहरी उच्च स्रोतको दाबी छ ।
केही दिनअघि मात्र विप्लव समूहको युवा संगठनको केन्द्रीय कार्यालयमा छापा हानेर संगठनका पदाधिकारीलाई पक्रिन प्रहरीको विशेष ब्युरो सफल भएको थियो ।
व्यवसायिक छविसँगै पालको कमान्डिङ क्षमताको पनि संगठनमा प्रशंसा हुने गरेको छ । शैलेश थापा क्षेत्री पनि व्यवसायिकरूपमा राम्रो छवि बनाएका प्रहरी अधिकारी हुन् ।
अध्ययनशील प्रहरी अधिकारीको रूपमा परिचित थापा केही समयअघि मात्र महानगरीय प्रहरी प्रमुखबाट प्रहरी प्रवक्ताको भूमिकामा प्रहरी प्रधान कार्यालय सरुवा भएका थिए ।
डीआईजी कार्कीलाई पनि एआईजीका बलिया दाबेदारका रूपमा हेरिएको छ । यस्तै हाल महानगरीय प्रहरी कार्यालयको प्रमुखमा सरुवा भएर आएका डिआईजी विश्वराज पोखरेल पनि एआईजी हुने दाउमा छन् ।
झण्डै ९ महिनाअघि मात्र डीआईजीमा एक्लै बढुवा भएका पोखरेल कमान्डिङ क्षमता भएका प्रहरी अधिकारीका रूपमा परिचित छन् । यसरी तीन एआईजी पदका लागि ७ जना डीआईजी प्रतिस्पर्धामा छन् ।
उनीहरूमध्ये एक नम्बरमा बढुवा हुने एआईजी पछि आइजीपी बन्नेछन् ।
डीआईजीबाटै आईजीपी हुने क्रम रोकिने
प्रहरीमा केही वर्षयता प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट नै प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने चलन छ । आईजीपी सर्वेन्द्र खनालसमेत डीआईजीबाटै आईजीपी बनेका थिए ।
त्यसअघिका आईजीपी प्रकाश अर्याल डीआईजीबाट नै आईजीपी भएका थिए । २९ माघमा हुने आईजीपीसमेत डीआईजीबाट नै छनोट हुने हो ।
आईपीसँगै एआईजीहरुको ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन थालेपछि डीआईजीबाट नै आइजीपी बन्ने चलन सुरु भएको थियो ।
प्रहरी संगठनमा एआईजी नहुँदै आइजीपी हुने प्ररम्पराले चेन अफ कमाण्ड बलियो नहुने पूर्व प्रहरी अधिकारीहरुले बताउँदै आएका छन् । तर यो पाली डीआईजी हरि पाल र शैलेश थापा एआईजीमा बढुवा भए डीआईजीबाट आईजीपी बन्ने क्रम रोकिने छ ।
उनीहरूमध्ये एक जना आईजीपी हुनेछन् भने डीआईबाट एआईजी बन्ने चाहिँ पछि आईजीपी बन्नेछन् । जसको कारण संगठनको चेन अफ कमाण्ड बलियो हुने प्रहरी अधिकारीको भनाइ छ ।