युवतीलाई “बलि” चढाउन भारत लैजान लागेको आशंकामा सातजना पक्राउ
युवतीलाई बलि चढाउन भारत लैजान लागेको आशंकामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । एकजनालाई काठमाडौं र ६ जनालाई विराटनगरनजिकको सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।
उनीहरूलाई तीन दिनको विशेष अप्रेसनपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेकामध्ये दुई महिला पनि छन् । प्रहरीले सबैको नाम गोप्य राखेको छ । ‘युवतीलाई बलि चढाउन लैजान खोजेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको छ,’ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले भने । स्रोतका अनुसार पक्राउ पर्नेमा उमेश माझी, कृष्ण तामाङ, उमेश साह, दिलीप पोदार, रन्जित चौधरी थारू, प्रेमामाया तामाङ र दिलकुमारी बुढामागर छन् । उनीहरूमध्ये एकजना काठमाडौंका र बाँकी सबै विराटनगरका हुन् ।
प्रवक्ता बोगटीका अनुसार, सुरुमा युवतीलाई पूजा गर्न भारत लैजान लागेको सूचना आएको थियो । अनुसन्धानमा खटिएको टोलीले उनीहरू विराटनगरआसपासको क्षेत्रमा रहेको जानकारी पायो । सीमा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरियो ।
प्रहरीका अनुसार बलि चढाउन लैजान खोजिएकी २१ वर्षीय युवती मोडल हुन् । उनको काठमाडौंमा कार्यालय छ । केही दिनअघि मोडलिङ गर्ने प्रस्तावसहित एक महिला उनको कार्यालय आएकी थिइन् । उनीसँगै केही पुरुष पनि थिए । पहिलो चरणमा मोडलिङ काठमाडौंमै गर्ने भनेका थिए । आकर्षक पारिश्रमिकको प्रस्ताव आएपछि युवती तयार भएकी थिइन् । फोनमा दुई पक्षबीच पटक–पटक संवाद भए पनि लिखित सम्झौता भने भएको थिएन ।
नयाँ पत्रिकामा खबर छ ।