चिनियाँ गिरोहमाथि रातभर अपरेशन, सयौं पक्राउ, चीन लान चाटर्ड विमान ल्याइने
नेपाल प्रहरीले एक हजारको संख्यामा चिनियाँ नागरिक संगठित अपराधमा सक्रिय रहेको पत्ता लगाएर अपरेशन चलाएको छ । यस क्रममा सोमबार दिन र रात गरी सयौंको संख्यामा आपराधिक गिरोहका सदस्य पक्राउ परेका छन् ।
छ महिना लामो अनुसन्धानपछि उक्त संख्यामा आपराधिक क्रियाकलापमा लागेका चिनियाँ नागरिकको सूची तयार भई पक्राउ शुरु गरिएको हो ।
संगठित अपराधमा लागेकाहरुको सूची तयार भएपछि प्रहरीले सोमबार एकैपटक राजधानीको विभिन्न स्थानबाट छापा मारेको हो । दर्जनौं ठाउँमा एकैपटक छापा मार्दा सयौंको संख्यामा चिनियाँ नागरिक पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको विवरण भने गोप्य राखिएको छ । राजधानीको बालाजुमा चिनियाँ आपराधिक गिरोहको सञ्जाल पक्राउ गर्ने क्रममा खटिएका प्रहरी चिनियाँ नागरिक वित्तीय अपराधमा बढी सक्रिय पाइएका छन् ।
बैंकको सिस्टम ह्याक गरी एटीएमबाट पैसा झिक्ने, ठगी, लागूऔषध कारोबार, वन्यजन्तुको सामाग्री ओसारपसार, विदेशी मुद्राको तस्करी देखि यौन व्यापारमा समेत संलग्न पाइएका छन् ।
उनीहरुको ठूलो समूहबारे जानकारी पाएपछि नेपाल प्रहरीले चिनियाँ पक्षसँग समन्वय गरी पक्राउ गरेको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको केही हप्ता अघि केही चिनियाँहरु बैंकको सिस्टम ह्याक गरी एटीएमबाट पैसा चोर्ने गतिविधिमा पक्राउ परेपछि चिनियाँ पक्ष गम्भीर भएको थियो ।
चीनको प्रतिष्ठामाथि आँच पुग्ने कार्य नेपालमा चिनियाँ नागरिकबाट भएको भन्दै चिनियाँ राजदूतावासले समेत चासो लिएको थियो । त्यसपछि विवरणसहित अनुसन्धान अगाडि बढाउँदा ठूलो संख्यामा चिनियाँहरु आपराधिक गतिविधिमा सक्रिय रहेको पाइएका थिए ।
पक्राउ परेका चिनियाँलाई चीन सरकारले आफ्नै देशमा लगेर कारबाही चलाउन खोजेको छ । सुपुर्दुगी सन्धीलगायतको विषय उठ्ने भएकाले अनौपचारिक तरिकाले हस्तान्तरण गरी चीन पठाइने भएको छ ।
चिनियाँ नागरिकलाई चीन लान चाटर्ड विमान ल्याइने बुझिएको छ । प्रहरीले सोमबार रातभर चिनियाँ संगठित अपराधिक समूह पक्राउमा सक्रियता देखाएको छ । यस क्रममा सयौं पक्राउ परेका छन् ।