रघुवीर महासेठको लालची पारा, फिर्ता गरेनन् सरकारी गाडी
पुर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रीको हैसियतमा सरकारी सुविधामा प्राप्त २ वटा गाडी अझैसम्म फिर्ता नगरेको पाइएको छ । मन्त्रीको जिम्मेवारीबाट हटाइएको २ साता बितिसक्दा पनि महासेठले सरकारी सम्पत्तिमा रजाइँ गरिरहेका हुन् ।
स्रोतका अनुसार महासेठले फिर्ता नगरेका २ मध्ये एउटा गाडी उनकी श्रीमती जुली महतो चढ्छिन् । महतो सांसद हुन्, तर उनलाई सांसदका रूपमा सवारी सुविधा उपलब्ध हुँदैन । महासेठले मन्त्री हुँदा पत्नी आफन्तका लागि समेत भाग पुग्ने गरी सरकारी गाडी लिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ गते महासेठसहित ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जनालाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए । नयाँ मन्त्रीहरूले मंसिर ५ गते शपथ ग्रहण गरेर कार्यभार सम्हालेको समेत २ साता बितिसकेको छ, तर महासेठदम्पत्ति सरकारी सुविधाको गाडी चढिरहेका छन् ।
मन्त्रालय स्रोतका अनुसार महासेठले मन्त्रालय र विभागका गरी ७ वटा गाडी लिएका थिए, त्यसमध्ये २ वटा गाडी फिर्ता नभएको हो । बा २ झ २२१६ र बा२झ ४०२९ नम्बरको गाडी मन्त्रालयमा फिर्ता भएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अहिले मन्त्री वसन्त नेम्वाङले सम्हालेका छन् ।
धनी मन्त्रीको अनैतिक काम, लालची पारा !
जिम्मेवारीबाट हटेलगत्तै सुविधामा प्राप्त गाडी फिर्ता गर्नु कानूनी दायित्व र नैतिक कर्तव्य पनि हो । तर महासेठले यी दुवै कुराको ख्याल गरेको देखिँदैन । महासेठ आफैंले उल्लेख गरेको सम्पत्ति विवरण हेर्दा यसरी सरकारी सम्पत्तिको दुरूपयोग गरिरहनु झनै लज्जास्पद देखिन्छ ।
तत्कालीन मन्त्री महासेठले २०७५ साल वैशाख १९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरणअनुसार उनी आफ्ना समकक्षी मन्त्रीहरूभन्दा निकै धनी देखिएका थिए ।
१००८०–२०७४/०७५ नम्बरमा मन्त्रिपरिषद् कार्यालयमा दर्ता भएको विवरणअनुसार ललितपुर महानगरपालिका वडा नम्बर २५ नख्खुमा ५ हजार ८ सय वर्ग्फिटमा फैलिएको घर छ ।
श्रीमती जुली महतोको नाममा रहेको उक्त बंगला निकै आलिशान छ । धनुषास्थित जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा ४ हजार २ सय वर्ग्फिटमा फैलिएको साढे २ तले र धनुषाकै मिथिला बिहारी नगरपालिकामा पैत्रिक घर रहेको उल्लेख उनले सम्पत्ति विवरणमा गरेका थिए ।
यसैगरी ललितपुर महानगरपालिकाभित्र २ कित्तामा गरी ४ रोपनी ४ आना जग्गाभन्दा बढी जग्गा श्रीमतीकै नाममा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
श्रीमती जुलीकै नाममा धनुषामा ८ बिघा ५ कट्ठा, आफ्नै नाममा १ बिघा १५ कठ्ठा जग्गा रहेको मन्त्री महासेठले उल्लेख गरेका थिए ।महासेठसँग सुन ५२ तोला छ, जसमध्ये २५ तोला दाइजोमा प्राप्त भएको दाबी उनले गरेका थिए ।
यस्तै डेढ किलो चाँदी, ४० करोड रुपैयाँ बराबरको शेयर, नगद ७२ लाख बैंक ब्यालेन्स समेत रहेको उनी आफैंले उल्लेख गरेका छन् ।
हिरा जबाहरततर्फ ७ वटा औंठी, ३ वटा हार, ३ वटा सिक्री इत्यादि रहेको देखिन्छ । महासेठ मन्त्री बन्नुअगाडिको चलरअचल सम्पत्तिको मूल्यांकन गर्ने हो भने अर्बमा हुन आउँछ । सगोलको १४६ विघा जग्गा त त्यसभन्दा अलग हो ।
सूचना अधिकारी भन्छन्, गाडी फिर्ता गर्नु नैतिक जिम्मेवारी !
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी मोहनप्रसाद चापागाईं मन्त्रीको रूपमा सुविधामा पाएको गाडी मन्त्रीबाट हटेपछि फिर्ता गर्नु नैतिक जिम्मेवारी भएको बताउँछन् ।
‘आफ्नो पदीय दायित्वबाट हटेपछि नैतिकरूपमा बुझउनुपर्ने हो,’ चापागाईंले लोकान्तरसँग भने, ‘अलि बढी समय भयो भने ताकेता गर्ने हो, के हुँदैछ मैले पनि बुझ्नुपर्छ ।’
राज्यमन्त्रीका पीएले पनि फिर्ता गरेनन् गाडी !
महासेठसँगै मन्त्रीबाट हटाइएकी निवर्तमान कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीका स्वकीय सचिवहरूले पनि गाडी फिर्ता गरेका छैनन् ।
चौधरी राज्यमन्त्री छँदा स्वकीय सचिव रहेका शैलेन्द्र थामी र नामुक हाङ मेन्याङ्वोले गाडी फिर्ता नगरेका हुन् । थामीले बा२झ १५६२ नं. र नामुक हाङ मेन्याङ्वोले बा२झ ७ नं. गाडी प्रयोग गर्थे ।
मन्त्री चौधरीले मन्त्रालय छाडेपनि स्वकीय सचिवले प्रयोग गरेका दुवै गाडी प्रयोग गरिरहेको मन्त्रालय स्रोतले जानकारी दियो । स्रोतका अनुसार राज्यमन्त्री चौधरीको सचिवालयले प्रयोग गरेको १ थान ल्यापटप र क्यामेरा समेत फिर्ता भएको छैन ।
लोकान्तरबाट