Logo
८ बैशाख २०८१, शनिबार
(December 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीप दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार, गाउँपालिकाद्वारा शोक बिदा

मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका-७ अल्छीबाङमा जीप दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिएको छ । इस्मा गाउँपालिका-४ दोहोली र पाँच रजस्थलका १० जनाको सामूहिक दाहसंस्कार गरिएको हो ।

दुर्घटनामा मृत्यु भएका इस्मा-४ का ४० वर्षीय महेन्द्र कार्की, २५ वर्षीया सूचना कार्की, ४० वर्षीया सीता कार्की, ६५ वर्षीय झवि कार्की, ४५ वर्षीय भुमि कार्की, २५ वर्षीया मीना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की र दुई वर्षीया अनुस्का कार्कीको दाहसंस्कार गरिएको छ ।

त्यस्तै सोही गाउँपालिका वडा नं ५ की ४० वर्षीया बवसुन्धरा कार्की र २३ वर्षीया माया थापाको पनि सामूहिक दाहसंस्कार गरिएको स्थानीय लङ्कबहादुर बस्नेतले बताए ।

अस्पतालमै शव

कञ्चनपुरबाट धनबहादुर कार्की पहिलोपटक दाजुभाइ खोज्दै कुलपूजाका लागि इस्मा आएका थिए तर दाजुभाइसँगको भेट अन्तिम मात्रै रह्यो । जे उद्देश्य बोकेर आएका थिए त्यो पूरा भएन । अन्तत घरसमेत फर्किन पाइएन ।

कुलपूजाकै लागि इस्मा आएका ५५ वर्षीय कार्कीको पनि दुर्घटनामा परी मृत्यु भयो । उनको शव बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । उनका आफन्त आएपछि बुझाइने भएकाले शव अस्पतालमै राखिएको भतिज बद्री कार्कीले जानकारी दिए ।

बडिगाड-५ की ५५ वर्षीया लक्ष्मी केसीको शव आफन्तले गाउँमै बुझेर दाहसंस्कार गरेका छन् । लक्ष्मी घरबाट गाडी चढेको दुई मिनेटमै दुर्घटनामा परेकी थिईन् । इस्मा-४ का गाडी चालक २५ वर्षीय रेशम थापाको शव मङ्गलबार नै परिवारले बुझेका थिए ।

उनको निस्ती दोभानमा आज बिहान दाहसंस्कार गरिएको स्थानीय रामबहादुर रेश्मीले जानकारी दिए । त्यस्तै नवलपरासी बर्दघाट नगरपालिका-२ की ६० वर्षीया मुना कार्कीको शव नवलपरासी लगिएको छ ।

बेपत्ताको खोजी, घाइतेको उपचार

दुर्घटनामा परेका इस्मा-४ दोहोलीका धनबहादुर कार्की अहिलेसम्म पनि बेपत्ता छन् । बुहारी सूचना कार्कीको मृत्यु भयो । नाति चार वर्षीय हिमाल कार्की अस्पतालमा छन् । मङ्गलबार दिनभर दुर्घटनास्थलमा खोजतलास गरे पनि शव भेटिएको छैन ।

दुर्घटनामा नवलपरासी बर्दघाट-२ का १८ वर्षीय जीवन कार्की, गुल्मी इस्मा गापा-४ का चार वर्षीय हिमाल कार्की र २४ वर्षीया निमा केसी घाइते भएका छन् । घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको छ । अहिले त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।

गाउँपालिकाद्वारा शोक बिदा

दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश इस्मा गाउँपालिकाका छन् । जसले गर्दा गाउँपालिका र सिङ्गो जिल्ला शोकमा डुबेको छ । इस्माका पनि विशेष गरी कार्की र बस्नेत परिवार बढी शोकमा छन् ।

कतिका सिन्दूर पुछिएका छन्, भने कतिका काख रित्तिएका छन् । दुर्घटनामा इस्मालीले ज्यान गुमाएको भन्दै गाउँपालिकाले आज शोक बिदा दिने निर्णय गरेको छ ।

दुर्घटनामा मृत्यु भएपछि गाउँपालिकाले एक दिन शोक बिदा गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

उनले तत्काल कार्यपालिकाको बैठक बसेर मृतक तथा घाइते परिवारको लागि पनि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताए । अहिले विद्यालयमा अर्धवार्षिक परीक्षा सञ्चालन भएको छ । गाउँपालिकाले आज स्थगित प्रावि तहको परीक्षा यही मङ्सिर १९ र निमावि तथा माविको मङ्सिर २० गते सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: Dec 4, 2019

प्रतिक्रिया दिनुहोस्