Logo
१५ चैत्र २०८०, बिहीबार
(December 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियाको रोजगारी खुलेपछि एकैपटक आयो ३१ हजार कामदारको माग

काठमाडौं : वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा रहेको मलेसियाका लागि कूल ३१ हजार २०१ जना कामदारका लागि स्वीकृति प्राप्त भएको छ । लामो समयदेखि रोकिएको मलेसियाको रोजगारी खुलेपछि एकैपटक ठूलो संख्यामा कामदार माग भई आएको हो । नेपाली दूतावास मलेसिायले समेत उक्त माग संख्यालाई प्रमाणकिरण गरी कामदार ल्याउनका लागि स्वीकृति दिएको छ ।

नेपाल सरकार र मेलेसिया सरकारबीच सन् २०१८ मा सम्पन्न कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्ती सम्बन्धी समझदारीपत्र कार्यान्वयनमा आए पश्चात वैदेशिक रोजगार ऐन,२०६४, वैदेशिक रोजगार नियमावली, २०६४ तथा वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्दे्शिका, २०७५ र नेपाल सरकार र मलेसिया सरकारवबीच भएको समझदारीपत्र अनुसार कामदारको संख्या स्वीकृत गरिएको हो ।

नेपाली राजदूतावासबाट सन् २०१९ को अक्टोवर महिनाको पहिलो हप्तादेखि मलेसिया सरकारको आधिकारिक निकायबाट प्रमाणिकरण भई आएका मागपत्रहरु अभिलेखिकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिस गरिएको छ । अक्टोवर र नोभेम्वरको अवधिमा दूतावासमा पेश भएका मागपत्र प्रमाणिकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिस गरी पठाइएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार जम्मा मागपत्रको फाइल संख्या ९६३ रहेको छ । यस्तै कूल कामदार माग भने ३१ हजार २०१ जना रहेको छ । त्यसमा औद्योगिक क्षेत्रका लागि मात्रै १७ हजार ११६ को माग आएको छ । यस्तै सेवा क्षेत्र जसमा सुरक्षा गार्ड सहितको संख्या १० हजार १८३ रहेको छ । त्यस्तै कृषि क्षेत्रमा १ हजार ४७५, प्लाण्टेसनमा १ हजार ३९७ र निर्माणतर्फ १ हजार ३० जनाको माग आएको छ ।

दूतावासले मागपत्रको प्रमाणिकरणको कार्यलाई सरल, पारदर्शी र चुस्त बनाएको जनाएको छ । कम्पनीको मालिक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन निर्देशक वा मानव संशाधन व्यवस्थापक स्वयं उपस्थित भई १० देखि १२ बजेसम्म दूतावासमा पेश गर्ने वातावरण बनाइएको छ । पेश भएका मागपत्रको विवरण रुजु गर्ने, अध्यावधिक गर्ने र प्रमाणिकरणको पत्र तयार गर्ने काम दूतावासले गरेको छ ।

वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्दे्िशका, २०७५ बमोजिम दूतावासमा प्रमाणिकरणको लागि पेश भएका मागपत्रहरु १० दिनभित्र प्रमाणिकरण गर्ने गरेको छ ।

व्यवसायी तथा नेपाली कामदारको हितलाई ध्यानमा राखी दूतावासले मलेसियाको गृह मन्त्रालयबाट जारी भएको विदेशी श्रमिक नियुक्त गर्ने कोटाको १५ दिन सम्मको वैधानिकता भएको मागपत्र स्वीकार गर्ने गरेको छ ।

प्रकाशित मिति: Dec 3, 2019

प्रतिक्रिया दिनुहोस्