Logo
८ बैशाख २०८१, शनिबार
(December 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कास्की २ मा नेकपाकी विद्याको विजयी, नेकपा र कांग्रेसबाहेक सबैको जमानत जफत

गण्डकी प्रदेश स्थित कास्की २ मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा नेकपाकी विद्या भट्टराई अधिकारी विजयी बनिन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलबाहेक कसैले पनि दोहोरो अंकको मतसहित पछ्याएनन्।

विद्याले २४ हजार ३ सय ९४ मत ल्याउँदा खेमराजले १५ हजार ९ सय ९१ मत मात्रै ल्याउन सके। पराजय स्वीकार्दै कांग्रेस उम्मेदवार खेमराजले विद्यालाई बधाई दिएका छन्।

उनले कार्यकाल सफलताको शुभकामना दिँदै विद्यालाई खादा र माला लगाइदिएर बधाई दिए।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि शनिबार कास्की २ मा उपनिर्वाचन भएको थियो।

उनै रवीन्द्रकी पत्नीलाई नेकपाले उम्मेदवार बनायो र चुनाव जितिन पनि। प्रतिनिधिसभा सदस्यको लागि यहाँ २१ जना चुनावी मैदानमा थिए।

यीमध्ये विजयी बनेकी नेकपाकी भट्टराई र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पौडेलले मात्र जम्मा खसेको मतको १० प्रतिशत मत कटाए।

अन्य कसैले पनि १० प्रतिशत मत ल्याउन सकेनन। निर्वाचन ऐनमा उल्लेख गरेअनुसार जम्मा खसेको मतको १० प्रतिशत नकटाउने उम्मेदवारको जमानत जफत हुनेछ।

यहाँका २१ उम्मेदवारमध्ये १९ जना उम्मेदवारको जमानत जफत भएको छ।

यहाँ १, ४, ५ ल्याउने उम्मेदवार पनि छन्। यहाँ चर्चामा रहेकी साझा पार्टीकी रजनी केसीले पनि आफ्नो जमानत जोगाउन सकिनन्। त्यस्तै समाजवादी पार्टी, राप्रपा, राप्रपा संयुक्त, मंगोल नेशनल, नेकपा मालेलगायतका दल र स्वतन्त्र उम्मेदवार कसैले पनि जमानत पनि जोगाउन सकेनन्।

उनीहरू हजार हाराहारीकै मतमा समेटिए। यहाँ केही उम्मेदवारको भन्दा बदर मत धेरै छ। कास्कीमा ६०० मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दियो। तेस्रो भएका समाजवादी पार्टीका धर्मराज गुरुङले एक हजार नौसय २२ मत ल्याए।

त्यस्तै राप्रपाका रोमबहादुर भण्डारीले एक हजार एकसय ५३ मत ल्याए। साझाकी रजनी केसीले नौ सय ४२ ल्याइन। गंगा मल्ल हलो चिन्हकी उम्मेदवारले ९५, हँसिया तारा चुनाव चिन्ह भएका टेकनारायण भण्डारीले ५१, घर चुनाव चिन्हका पूर्ण बहादुर रानाले ३५, कुखुराको भाले चुनाव चिन्हका रियाज गुरुङले १३८ मत ल्याए।

त्यसैगरी, करुवा चिन्हका चन्द्रबहादुर रानाभाटले २८, जरायो चिन्हका वीरबहादुर विकले ११, किताब चिन्हका उमनाथ गौतमले एक, कमलजंग कुँवर शंख चिन्हले ६१, विवेकशीलकी जमुना शर्माले ७७ मत, क्यामेरा चिन्हका दीपक रेग्मीले ५, कलम चिन्हका नवराज बास्तोलाले १८, आँप चिन्हका यज्ञप्रसाद पंगेनीले १ मत ल्याए।

त्यस्तै, डोजर चिन्हका रनबहादुर दमैले ४, माहुरी चिन्हकी लक्ष्मी कुमारी भूजेलले ४, सुनिल बहादुर कोइराला टेबुल चिन्हले ११ मत र क्रिकेटको ब्याट चुनाव चिन्हका सुनिल भूषालले ४ मत ल्याए।

कास्की २ मा ७१ हजार आठसय ७१ मतदाता मध्ये ४५ हजारले मात्रै मतदानमा भाग लिएका थिए। योभन्दा अघिल्लो निर्वाचनमा रवीन्द्रले कांग्रेसकै उम्मेदवारलाई आठ हजार मतले नै पराजित गरेका थिए।

प्रकाशित मिति: Dec 1, 2019

प्रतिक्रिया दिनुहोस्