पार्टीभीत्रको भागबण्डाले भक्तपुरमा नेकपाको हार, सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप
भक्तपुरको प्रदेशसभामा चुनाव हारेपछि नेकपाका कार्यकर्ता सामाजिक सञ्जालमै आरोप प्रत्यारोपमा उत्रिएका छन् । पूर्वमाओवादीका डीपी ढकाल यसपटक कांग्रेसका कृष्ण भँडेलसँग दुई हजारभन्दा बढी मतान्तरमा पराजित भएका छन् ।
उनले यसअघि एमालेका उम्मेदवारले प्राप्त गरेको मतसमेत जोगाउन सकेनन् । भक्तपुरको पराजयले सत्तारुढ नेकपालाई धक्का लागेको छ ।
पूर्वएमालेहरुले डीपी ढकाललाई उम्मेदवार बनाएकै कारण भक्तपुर गुमाउनुपरेको भन्दै गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् । उनीहरुले पार्टीमा भागबण्डा खोज्न तर जनतामा मत लिने ठाउँमा लोकप्रिय व्यक्ति छाडेर टिकटमा भागवण्डा नगर्न नेतृत्वलाई खबरदारीसमेत गरेका छन् ।
जनताले नचिनेका र अघिल्लो चुनावमा ‘बागी’ उठेका ढकाललाई उम्मेदवार बनाएकै कारण नेकपाले सो क्षेत्र गुमाएको पूर्वएमाले पक्षको आरोप छ । तथापि आफू बागी नभएर त्यागी उम्मेदार भएको ढकालको दाबी रहँदै आएको छ ।
उम्मेदवारका कारण पराजित भएको टिप्पणीहरु आइरहेपछि राष्ट्रिय युवा संघका अध्यक्ष दीपशिखाले भने डीपी ढकालको पराजयप्रति लक्षित गर्दै लेखेका छन्, नेकपाभित्र एउटा प्रवृति छ, आफूलाई पहिलो दर्जाको र अर्कोलाई दोस्रो दर्जाको ठान्ने ।
चुनावको परिणाममा यो प्रवृत्तिले पनि काम गरेको छ । दीपशीखालाई जवाफ दिँदै अनेरास्ववियुकी कार्यकर्ता अस्मिता थापा लेख्छिन्, टिकट वितरणका बेला पूर्वमाओवादी पक्षले भागबण्डा नखोजेको भए भक्तपुरको प्रदेशसभा र दाङ तथा चितवनका दुई वडा गुमाउने थिएनन् ।
पार्टी्भित्र भागबण्डा खोज्नुस्, तर जनताको मत लिने ठाउँमा जित्ने मान्छे रोज्नुस् कमरेड । डीपी ढकालजस्ता तपाईका प्रिय कमरेडलाई समानुपातिकमा राख्नुस् ।’
तत्कालीन एमाले एक्लैले जितेको चाँगुनारायण नगरपालिकामा माओवादीसमेत मिलेको अवस्थामा नेकपा हारेको छ । सो क्षेत्रमा यसअघि तत्कालीन एमालेका हरिशरण लामिछानेले जितेका थिए ।
डीपी ढकाल माओवादीको उम्मेदवार बनेर ७८४ मत पाएका थिए । यद्यपि उनले अन्तिममा आफ्नो उम्मेद्वारी नरहेको भन्दै एमालेका उम्मेदवारलाई मत मागेका थिए ।
डीपी ढकाललाई उम्मेदवार बनाएपछि भक्तपुरको प्रदेशसभामा नेकपा हार्ने आँकलन पूर्वएमाले पंक्तिले गरिसकेको थियो । जिल्लाका नेताहरुले उम्मेदवारमा विचार गर्न शीर्षनेतालाई आग्रह पनि गरे । तर, अध्यक्ष प्रचण्डले जोडबल गरेपछि डीपीले टिकट पाए ।
डीपीले टिकट पाउनासाथ चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रकी पत्नीसहित जिल्लाका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका थिए । चाँगुनारायण नगरपालिका एमालेले जितेको ठाउँ हो ।
तर, काँठे र ग्रामीण भेगका जनताले विगतमा एमाले भएर होइन स्थानीय जनताबीच परिचित भएका कारण हरिशरण लामिछानेलाई मत दिएका थिए ।
काभ्रेका डीपी ढकालले भक्तपुरलाई कार्यक्षेत्र बनाएर माओवादी राजनीति गरे पनि उनी जनता र कार्यकर्ता पंक्तिमा राम्रोसँग परिचित थिएनन् । भलै, उनी नेकपा भक्तपुरका सचिव हुन् । उता कांग्रेसका उम्मेदवार भँडेल स्थानीय र लोकप्रिय व्यक्ति थिए ।
उनीसँग भिड्न नेकपाको स्थानीय कमिटीले रमेश बुढाथोकीलाई उम्मेदवार बनाउन नेतृत्वलाई सुझाव दिएको थियो । तर, डीपीले प्रचण्ड साथ पाएर टिकट प्राप्त गरे । जिल्ला कमिटीले पनि ढकालकै नाम एक नम्बरमा राखेर केन्द्रमा पठायो ।
चुनाव हार्ने निश्चित भए पनि पूर्वएमाले नेताहरु डीपीलाई जिताउन खटिएको बताउँछन् । महेश बस्नेतको क्षेत्र अर्को भए पनि चुनाव अवधिभर डीपीलाई लिएर घरघर डुलेका थिए । माधव नेपाल, वामदेव गौतमलगायतका नेता पनि भक्तपुरमा खटिएका थिए ।