Logo
२ माघ २०८१, बुधबार
(November 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीको अस्पतालको दिनचर्यामा सामान्य हेरफेर

स्वास्थ्यमा क्रमिक सुधार देखा परेपछि प्रधानमन्त्री केपी ओलीको अस्पतालको दिनचर्यामा सामान्य हेरफेर भएको छ। उनलाई उपचार गरिरहेका टिमका प्रमुख सदस्य डा. अरुण सायमीका अनुसार प्रधानमन्त्रीलाई सहज भएसम्म कुर्सीमा बस्न भनिएको छ।

त्यस्तै ठोस (गिलो) खाना खान प्रोत्साहित गरिएको छ। मंगलबार एपेन्डिसाइटीसको शल्यक्रियापछि पहिलोपल्ट उनकी श्रीमती राधिका शाक्य र सल्लाहकारलाई प्रधानमन्त्रीसँग भेट्न दिइएको छ ।

प्रधानमन्त्रीले हल्का हिंडडुल गर्न थालेका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि उनलाई चिकित्सककको निगरानीमा हल्का हिंडाइएको हो ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. दिव्यासिंह शाहले भनिन्, ‘प्रधानमन्त्रीज्यूलाई हिंड्नथाल्नुभएको छ ।’ उहाँलाई झोल खानेकुरा दिइएको भन्दै आजबाट बढी झोल भएको ठोस खानेकुरा पनि दिइने बताइन् ।

यसैगरी ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको जानकारी आएको छ । उनी उपचाररत मनमोहन कार्डियोथोराकिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरले विज्ञप्तिमार्फत् स्वास्थ्यमा उल्लेख्य सुधार भएको जनाइएको छ ।

तर, ओलीको सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखी उपचार भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा रहेका प्रधानमन्त्रीले ट्विट गरेर के भने?
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा बिहीबार बिहान ट्विट गर्दै प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राख्ने, शुभेच्छा प्रकट गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु ।

यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’, प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: Nov 28, 2019

प्रतिक्रिया दिनुहोस्