मोदीलाई जन्मदिनको शुभकामना दिनेले कालापानीका लागि सिधा फोन गर्नुपर्दैन? : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नक्सामा समावेश गरेकोबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधा कुराकानी गर्नुपर्ने बताएका छन्।
अतिक्रमित भूमिबारे सरकारले मिडियामा खपतका लागि मात्रै विज्ञप्ति जारी गर्ने गरेको शर्माको आरोप छ। ‘प्रमुख प्रतिपक्षी दलका नेता, पार्टी सभापति शेरबहादुर देउवाले राजदूतलाई फोन गरेर लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भूमि हो, भारतले निकालेको नक्साप्रति आपत्ति छ भन्नुभयो,’ पोखरामा सोमबार पत्रकारहरूसँग प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्रीलाई सर्वपक्षीय बैठकमा सीमा विवाद हल गर्न पहल गर्न भनियो तर यतिका दिन भयो केही भएन। परराष्ट्र मन्त्रालयले त्यहीँ नजिक लैनचौरमा रहेको दूतावासलाई बोलाएर छलफल र्गयो? सरकारले छलफल नै गरेन।’
‘कालापानीका विषयमा मिडियालाई खपत हुने गरी विज्ञप्ति आए। भारतीय प्रधानमन्त्रीलाई जन्मदिनमा विभिन्न भाषामा शुभकामना दिनेले सिधा फोन गर्नुपर्दैन?,’ शर्माले प्रश्न गरे, ‘यति समय गइसक्यो, मोदीका नाममा आजसम्म एक फोन काठमाडौंबाट गइराखेको छैन।’
गत शनिबार पोखराबाटै सभापति देउवाले ‘ओलीसँग सल्लाह गरेर भारतले नक्सा जारी गरेको’ बताएका थिए। सभापतिको अभिव्यक्तिलाई शर्माले आशंकामात्रै गरिएको बताए। ‘सभापतिले बोल्दै गर्दा आशंका राख्नुभएको हो, कतै भारतसँगको सहमतिमा पो यो भइराखेको छ कि!,’ उनले भने, ‘सभापतिको अभिव्यक्ति पार्टीको ठहर होइन। उहाँको आशंका हो।’
अतिक्रमित भूमि समेटेर नेपालले नक्सा जारी गर्नुपर्ने शर्माले बताए। ‘नक्सा छापेर जारी गर्नू ठूलो कुरा नहोला तर आफ्नो देशको आधिकारिक नक्सासमेत सार्वजनिक गर्न नसक्ने सरकारबाट अरू के आश गर्नू?,’ शर्माले प्रश्न गरे। सरकारले तीन दिनभित्र अतिक्रमित भूभाग समेटेर नक्सा जारी नगरे कांग्रेसले नक्सा जारी गर्ने उनले बताए।