Logo
९ माघ २०८१, बुधबार
(November 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ जना मन्त्री हटाउने/थप्ने र अन्यको जिम्मेवारी हेरफेर गरिँदै, माओवादीबाट भट्ट र यादव बन्दै

सरकारमा मन्त्रीपरिषद पुर्नगठनको तयारीबीच तत्कालीन (माओवादी केन्द्र) बाट २ र तत्कालिन एमालेबाट २ जना गरी जम्मा ४ जनालाई हटाउने/नियुक्त गर्नेमा सहमती भएको छ ।

यद्यपी यस्को औपचारिक घोषणा भने गरिएको छैन ।

तत्कालीन माओवादीका तर्फबाट मन्त्री बनेका मातृका यादव र चन्द्रपाणि खनाल ‘बलदेव’ हट्ने निश्चित भएको छ ।

उनीहरुको ठाउँमा लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने निश्चित भएको छ ।

कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ । चौधरीको ठाउँमा कसलाई राज्यमन्त्री बनाउने भन्ने टुंगो लागेको छैन ।प्रचण्डको निजी सचिवालय स्रोतका अनुसार प्रचण्डले आफ्नो तर्फबाट दिनुपर्ने नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइसकेका छन् ।

यद्यपी प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले कसलाई राख्ने र कसलाई हटाउने भन्ने अधिकार प्रधानमन्त्री ओलीको भएको बताए ।

यस्तै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि मन्त्रिपरिषदमा कसलाई राख्ने र कसलाई हटाउने भन्ने अधिकार प्रधानमन्त्रीमा रहेको बुधबारको नेकपा सचिवालय बैठकपछि पत्रकारहरुलाई बताएका थिए ।

त्यस्तै तत्कालीन एमालेको तर्फबाट मन्त्री बनेका रघुवीर महासेठ र लालबाबु पाण्डितलाई हटाउने तयारी रहेको बताइएको छ । प्रधानमन्त्री ओलीले मन्त्री हेरफेरमा माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ खनाललाई सन्तुष्ट बनाउन सकेका छैनन् ।

प्रधानमन्त्रीले बुधबारनै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेको भनिएपनि ‘कार्यव्यस्तताको कारण देखाउँदै’ स्थगित गरिएको थियो ।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको कार्यव्यस्तताका कारण सपथग्रहण स्थगित भएको हो ।

विवादको चुरो

नेकपाभित्र मन्त्री मात्रै होइन, सभामुख समेत को हुने र कसलाई बनाउने भन्नेमा विवाद छ ।  सोही विवाद मिल्न नसक्दा पनि बुधबारको मन्त्रिमण्डल पुनर्गठनको योजना पछि धकेलिएको रुपमा समेत विश्लेषण हुन थालेको छ ।

जबकी मन्त्रिमण्डल विस्तार अघि उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजनीनामा गराउने स्वयम् प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताहरुको योजना थियो ।

त्यसका लागि तुम्बाहाम्फेसँग ओलीले बिहानै कुराकानी समेत गरेका थिए । तर, उनले राजीनामा नदिने जवाफ फर्काएपछि ओली प्रचण्डको योजना असफल हुन पुगेको बताइएको छ ।

मन्त्रीमण्डल हेरफेर

प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल हेरफेरमा केही बहालवाला मन्त्री हट्नेछन् भने केही नयाँ मन्त्री थपिनेछन्। प्रधानमन्त्रीले अहिलेका धेरै मन्त्रीको मन्त्रालय हेरफेर गर्नेछन्।

स्रोतका अनुसार कार्यसम्पादन राम्रो भएका सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई ओलीले भौतिक पूर्वाधार मन्त्रालय दिने तयारी गरेका छन्। भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ हटाउने मन्त्रीको सूचीमा छन्।

त्यस्तै, खानेपानी मन्त्री बीना मगरको पनि मन्त्रालय परिवर्तन गर्ने तयारी ओलीको छ। प्रधानमन्त्री ओलीले मगरलाई हटाउन चाहे पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीनाको थमौती चाहेका छन्।

मेलम्ची खानेपानी आयोजनामा भएको ढिलासुस्तीमा मगरको हात रहेको भन्दै प्रधानमन्त्री ओली उनलाई हटाउने पक्षमा छन्। स्रोतका अनुसार उनी विकास निर्माण र बजेटसम्बन्धी भन्दा पनि सेवासँग सम्बन्धित मन्त्रालय जाने सम्भावना धेरै छ।

महिला, बालबालिका वा युवा तथा खेलकुद मन्त्रालयमा मगरलाई पठाउने तयारी प्रधानमन्त्री ओलीको छ। महिला मन्त्री थममाया थापालाई हटाउने तयारी प्रधानमन्त्रीको छ।

‘महिला मन्त्री थापालाई गाडी चढ्ने र ओर्लनेबाहेक केही थाहा भएको देखिएन,’ प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो, ‘मन्त्रालयमा राखेर पनि उहाँले सिक्ने नदेखिएकाले हटाउने लागिएको हो।’

उद्योग मन्त्री मातृका यादवले आफूलाई हटाउने तयारी भैरहेको अध्यक्ष प्रचण्डबाट जानकारी पाएको स्पष्ट पारिसकेका छन्। १८ महिनाको अवधि आफ्नो काम देखाउन पर्याप्त हुने भए पनि मन्त्रीहरूले कामै गर्न कतिपय नसकेको निष्कर्ष प्रधानमन्त्री ओलीले निकालेका हुन्।

दसैंअघि नै प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग कार्यसम्पादन चित्त बुझ्दो नभएको स्पष्ट सन्देश दिएका थिए। उनले मन्त्रीहरूको कार्यसम्पादन मूल्याङ्कनसमेत गरेका थिए। ‘१८ महिनामा काम देखाउन नसकेका मन्त्री उहाँले राख्नुहुन्न,’ स्रोतले भन्यो।

प्रधानमन्त्री ओली श्रम मन्त्री गोकर्ण विष्ट र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग पनि सन्तुष्ट छैनन्। विष्टले मलेसियामा वैदेशिक रोजगारी रोकेर पनि खुलाउने विषयमा अपरिपक्व काम गरेको ओलीको ठहर छ।

त्यस्तै, उनले सामाजिक सुरक्षा कोषलाई कार्यान्वयनमा लैजान ध्यान नदिएको प्रधानमन्त्रीको आरोप छ। शिक्षा मन्त्री पोखरेलले पनि काम गर्न नसकेको ठहर छ।

तर नेकपाभित्र पूर्वमाओवादी समूहको शक्ति बाँडफाँडमा नारायणकाजी श्रेष्ठ समूहबाट पोखरेल मन्त्री भएकाले निर्णय नभइहाल्ने स्रोतले बतायो। त्यस्तै खेलकुद मन्त्री जगत विश्वकर्माले पनि काम गर्न नसकेको ओलीको ठहर छ।

प्रधानमन्त्री ओली पूर्वमाओवादीतर्फका वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई कायम राख्ने पक्षमा छन्। ऊर्जा मन्त्रालयमा राम्रो गरेका पुनलाई अन्य मन्त्रालय सार्न ओलीले चाहेका छैनन्।

पुन भने गृह मन्त्रालय पाएको अवस्थामा मन्त्रालय हेरफेरका लागि राजी छन्। तर सचिवालय सदस्य समेत रहेका रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाको मन्त्रालय हेरफेरको सम्भावना नरहेको स्रोतले बतायो।

वन मन्त्री शक्ति बस्नेतको मन्त्रालय हेरफेरको सम्भावना छ।

प्रकाशित मिति: Nov 20, 2019

प्रतिक्रिया दिनुहोस्