सचिवालय बैठकमा मन्त्रीको टुंगो लगाइँदै, उपसभामुख तुम्बाहाम्फे मन्त्री बन्न तयार
प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे मन्त्री बन्न तयार भएकी छन्। तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रकरणमा मुछिएपछि सभामुखमा दाबी गरिरहेकी उनी मन्त्री बन्न तयार भएकी हुन्।
सभामुख महराको दोष आफुले बोकेर उपसभामुख नछाड्ने अडान लिएकी उनलाई नेकपा नेतृत्वले अन्ततः मन्त्रीका लागि मनाएको हो।
नेकपाले सभामुख आफुले राखेर राष्ट्रिय जनमोर्चालाई उपसभामुख दिने तयारी गरेको छ। मंसिर १४ गते हुने उपनिर्वाचनपछि बस्ने संसदको हिउँदे अधिवेशनले नयाँ सभामुख चयन गर्नेछ।
उपसभामुख भएकाले पहिलो दाबी गर्दै आएकी उनलाई सत्तारुढ नेकपाको नेतृत्व सभामुख बनाउन तयार नभएपछि मन्त्री बन्न तयार भएकी हुन्।
उपसभामुख तुम्बाहाम्फेले संघीय संसददेखि प्रदेश संसदसम्ममा महिलालाई उपसभामुखमा सीमित गरिएकाले आफूले सभामुख हुन पाउनुपर्ने बताएकी थिइन्।
बुधबार बिहानै सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेकी उनी मध्यान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी छन्। स्रोतका अनुसार उनले यसबारेमा नेकपामा उच्च नेता र राष्ट्रपतिसँग पनि परामर्श गरिसकेकी छन्।
सभामुखका लागि नेकपबाट संविधासभाका अध्यक्ष सुवास नेम्बाङले पनि दाबी गरेका छन्। त्यसैगरी तत्कालीन एमाले र तत्कालीन माओवादीबाट पनि आधा दर्जन नेताले सभामुखमा दाबी गरेका छन्।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महरा काठमाडौं जिल्ला अदालतको आदेशमा हाल डिल्ली बजार जेलमा छन्।
सचिवालय बैठकमा मन्त्रीको टुंगो लगाइँदै
उता, नयाँ मन्त्री चयन चर्चासँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल उपस्थित छैनन्। मध्यान्ह साढे १२ बजे बोलाइएको बैठक पौने १ मा सुरु भएको हो।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पार्टीका सांगठनिक गतिविधि विस्तार तथा विधान संशोधनका विषयहरु मुख्य एजेण्डामाथि छलफल बताएका छन्।
आजको सचिवालयमा समयदेखि बस्न नसकेको स्थायी कमिटी बैठक बोलाउनेबारेमा सचिवालय बैठकमा छलफल हुने श्रेष्ठले जानकारी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु हेरफेर गर्न लागेपछि त्यसैबारेमा पनि बैठकमा छलफल हुने बताइएको छ। बैठकमा बाहिरिने मन्त्री र नयाँ मन्त्रीबारे नेकपाले निर्णय लिनेछ।