Logo
७ माघ २०८१, सोमबार
(November 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ : सिरहाबाट हराएको डिजेल ट्याङ्कर रित्तो अवस्थामा धनुषामा फेला

प्रदेश २ स्थित सिरहाबाट हराएको डिजेल ट्याङ्कर धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैयामा फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ मा रहेको राजदेवी मन्दिर छेउ अलपत्र अवस्थामा डिजेल ट्याङ्कर फेला परेको धनुषाका प्रहरी उपरिक्षक शेखर खरेलले बताए ।

डिजेल ट्याङ्कर सिरहा प्रहरीलाई बुझाउने तयारी गरिएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरले रित्तो अवस्थामा रहेको डिजेल ट्याङ्कर फेला परेको हो ।

मङ्गलबार ट्याङ्कर व्यवसायी महासंघको सूचना अनुसार बिहार पुगेको सिरहा प्रहरी रातभरको खोजपछि रित्तै फर्किएको थियो । अमलेखगञ्ज डिपोबाट डिजेल बोकी विराटनगरतर्फ गइरहेको नेपाल आयल निगमको ट्याङ्कर दुई दिनपछि फेला परेको हो ।

ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर सिरहाको लहानबाट सोमबार राति करिब १ बजेदेखि अपहरण पारिएका भनिएको डिजेल ट्याङ्करका चालक भने मङ्गलबार दिउँसो प्रहरीको सम्पर्कमा पुगेका थिए ।

प्रहरीले चालक रामदेव यादव र सहचालक उमेश यादवका अनुसार आफूहरुलाई राति करिब १ बजेको समयमा एक समूहले अपहरण गरी ट्याङ्कर भारत तर्फ लगेको थियो ।

प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महँगो भएकोले मिलेमतोमा बेच्न लगिएको आशंका छ । उक्त डिजेल ट्याङ्करमा २० हजार लिटर डिजेल रहेको थियो ।

काठमाडौँ उपत्यकाको बिक्री मूल्य अनुसार १९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल ट्याङ्करमा रहेको थियो । नेपाल आयल निगमले ‘अपहरण’ मा परेको भनिएको ट्याङ्करको खोजी गर्न एक समिति बनाएको छ ।

निगमले मङ्गलबार विज्ञप्ति प्रकाशित गरी प्रादेशिक प्रमुख इन्जिनियर अशोक शाहको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरेको छ ।

प्रकाशित मिति: Nov 20, 2019

प्रतिक्रिया दिनुहोस्