Logo
८ माघ २०८१, मंगलबार
(November 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित छैन : रामचन्द्र पौडेल

प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन कांग्रेसले कुटनीतिक पहल गर्न सरकारलाई साथ दिने भनिसकेको भन्दै अब प्रधानमन्त्रीको पहल व्यवहारमा हेर्न चाहेको बताएका छन् ।

पौडेलले भने, ‘अस्ति सर्वदलीय बैठकमा हामी सबैले प्रधानमन्त्रीलाई कूटनीतिक पहल गर्नुस् भनेका छौं । प्रधानमन्त्रीले कति गर्नुहुन्छ, हेर्नुछ ।’

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौंडामा आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारसँग काँधमा काँध मिलाउन कांग्रेस तयार रहेको बताए ।

सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने भन्दै उनले सरकारले तत्काल भारतसँग राजनीतिक तथा कूटनीतिकस्तरमा संवाद गर्नुपर्ने बताए ।

उनले भने, ‘कुरा गर्नुपर्ने ठाउँमा नगर्ने, यहाँ कुरा गरेर जनतालाई झुक्याउने ? नेता पौडेलले भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित छ छैन हेर्नुपर्ने धारणा राखे ।

उनले प्रधानन्त्री केपी शर्मा ओली र अन्य कम्युनिष्ट नेताहरुले विपक्षमा रहँदा चर्का कुरा गर्ने गरेको र अहिले सरकारमा हुँदा के गर्छन् हेर्ने बेला आएको बताए ।

उनले अहिलेको सरकारले लोकतन्त्रवादी व्यवसायीलाई छानि छानि दुःख दिने काम गरिरहेको दाबी पनि गरे । ‘अहिले लोकतन्त्रका पक्षधर व्यवसायीलाई दुख दिने, पाखा लगाउने काम गरेको छ, दुईतिहाई सत्ताको घोर दुरुपयोग गरेको छ,’ उनले भने ।

पौडेलले अहिले कांग्रेसका लागि चुनौती भनेको कम्युनिष्ट मात्र भएको बताउदै कांग्रेसमात्रै विचारको राजनीतिमा अडेको स्पष्ट पारे । पौडेलले कम्युनिष्टसंग प्रतिष्पर्धा गर्न कांग्रेस विचारका कारण सक्षम रहेको बताए ।

पौडेलले भने-‘राजनीतिमा विचारको बहस हुन जरुरी छ । तर अहिले पैसा र गुण्डागर्दीको राजनीति भइरहेको छ । लोकतन्त्रलाई यीनै कुराले कमजोर बनाउछ ।’

पौडेलले २०४८ सालको अवस्था र अहिलेको अवस्था तुलना गर्न आवश्यक रहेको भन्दै कम्युनिष्टहरुले कुनैपनि ठुला योजना गर्न नसकेको बताए ।

पौडेलले भने-‘चीनका राष्ट्रपतिको भ्रमणबाट नेपालले के पायो ? कम्युनिष्टहरुले सवैभन्दा बढि आशा चीनसंग गरेका थिए । यही कारणले कम्युनिष्टहरुले भनेको समृद्धिको यात्रा चाँडे तुहिदै छ ।’

प्रकाशित मिति: Nov 12, 2019

प्रतिक्रिया दिनुहोस्