सरकारकै उदारताले प्रदेश प्रमुखहरुलाई २ वर्ष काम गर्न दियौँ : प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले उदारता प्रदर्शन गरेका कारण अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुले दुई वर्ष काम गर्न पाएकाे बताएका छन् ।
उनले प्रदेश प्रमुखले सरकारको प्रतिनिधिका रुपमा काम गर्ने भएकोले सरकार परिवर्तनसँगै प्रदेश प्रमुखले राजीनामा दिएर सजिलो पार्ने प्रचलन दुनियामा रहेको बताए ।
नेपालगञ्जमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सरकार परिवर्तन भएसँगै प्रदेश प्रमुख परिवर्तन हुने अन्तर्राष्ट्रिय प्रचलन नै रहेको स्पष्ट पारे ।
‘हाम्रो सरकार चाहीँ उदार र अलिकति लचिलो भएकै कारण कसैको चित्त नदुखोस् भनेर दुई वर्ष काम गर्न दिएको हो, अहिले सरकारले सोच्यो कि अब फेर्न ठीक हुन्छ, यसलाई के–के न भयो भन्ठान्नु हुँदैन’, प्रचण्डले भने ।
सत्ता साझेदार समाजवादी पार्टीले प्रदेश प्रमुख फेर्ने निर्णयमा असहमति जनाएको विषयमा प्रचण्डले भने, ‘उहाँसँग (उपेन्द्र यादव) कुराकानी भएको हो, मैले पनि छलफल गरेकै हुँ तर अहिले उहाँका मान्छे परेनन्।’
प्रचण्डले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको असहमतिलाई पनि स्वभाविक भने । ‘माधव जीले पनि केही मान्छेका नाम दिनुभएको थियो, पार्टी बैठकले त्यो निर्णय गरेन्, यो निर्णय गर्यो । त्यसपछि उहाँले ‘नोट अफ डिसेन्ट’ लेख्छु भन्नुभो तर निर्णय मान्दिन भन्नुभएको छैन’, प्रचण्डले जिकिर गरे ।
उनले अहिले आफू चुनावको तयारीका क्रममा देश दौडाहामा रहेको बताए । ‘आचारसंहिताको कुरा उठिरहेको छ तर कुरा के हो भने म चाहीँ सरकारमा छैन । मैले स्थितिलाई अवलोकन र निर्वाचन तयारीको परिचालनको काम गरिरहेको छु यसमा मलाई बन्देज हुँदैन’, प्रचण्डले भने ।