१८औँ नाम सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री आज बाकु प्रस्थान गर्दै
प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा भाग केही बेरमा त्यसतर्फ प्रस्थान गर्दै छन् ।
प्रधानमन्त्री धर्मपत्नी राधिका शाक्यसहित २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेका हुन् ।
यही कात्तिक ८ र ९ गते हुन गइरहेको सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बाकुमा बुधबार सुरु भएको दुईदिने मन्त्रिस्तरीय पूर्वतयारी बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली हिजै त्यसतर्फ प्रस्थान गरि सकेका छन् । प्रधानमन्त्री ओलीले कात्तिक ८ गते शुक्रबार नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्तमात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नेछन् ।
सोही दिन साँझ अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष÷सरकार प्रमुखको सम्मानमा आयोजना हुने रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको छ ।
नामको संस्थापक राष्ट्रको हैसियतमा नेपालले स्थापनाकालदेखि नै सबै शिखर सम्मेलनहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते बिहान स्वदेश फर्कने कार्यक्रम रहेको छ ।