Logo
८ बैशाख २०८१, शनिबार
(July 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी द्वन्द्वमा कब्जा गरिएको ४४ विगाह जग्गा पुन: विप्लव समूहद्वारा ब्यानर टाँसेर कब्जा

कैलाली : नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी ’नेकपा’ले कैलालीको बर्दगोरीया गाउँपालिकामा झन्डै ४४ विगाह जग्गा कब्जामा गरेको छ। बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको नेतृत्वमा उक्त जग्गामा ब्यानर टाँसेर कब्जा गरेको जनाइएको छ।
स्थानीय राजेन्द्र मल्ल र वीरबहादुर मल्लको ३५ बिघा जमिनसँगै घर, देवबहादुर मल्लको ८ बिघा जमिन र घर तथा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कट्ठा जमिन कब्जा गरेको हो ।

यसअघि तत्कालीन माओवादी द्वन्द्वका क्रममा समेत कब्जा गरिएको उक्त जग्गा फेरि विप्लव समूहले कब्जामा लिएको हो । घरजग्गामा टाँसिएको ब्यानरमा सो जग्गा बिक्रीवितरणमा संलग्नलाई भौतिक कारबाही गरिने उल्लेख छ । जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी टोली त्यहाँ पुग्दा उक्तब्यानर नरहेको जनाएको छ ।

‘कब्जा गरेको जानकारी पाएपछि त्यहाँ प्रहरी परिचालन गरेका थियौँ। प्रहरी त्यहाँ पुग्दासम्म त्यो ब्यानर थिएन’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष्य बस्नेतले बताए। आफूहरूले यस विषयमा अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

वडा कार्यालय अगाडी ‘आगो’ बर्दगोरिया गाउँपालिका ५ को कार्यालयअगाडि आगो लगाइएको छ। वडा कार्यालयको बाहिरपट्टी अज्ञात समूहले बोत्तलमा पेट्रोल छरेल आगो लगाएको र सलाइ पनि फेला परेको प्रहरीले जनाएको छ । ’वडा कार्यालयअगाडि आगजनी भएको हो’ प्रहरी नायव उपरीक्षक बस्नेतले भने ’घटनामा संलग्नहरूको खोजिकार्य जारी छ।’ यसअघि पनि कैलालीका विभिन्न वडा कार्यालयमा शंकास्पद वस्तु फेला परेका थिए ।

प्रहरीले ती घटनामा विप्लव नेतृत्वको नेकपाले संलग्नता रहेको जनाएपछि यस घटनामा भने अझैसम्म अज्ञात समूहले आगो लगाएको जनाएको छ । अज्ञात समूहले लगाएको आगोबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jul 31, 2019

प्रतिक्रिया दिनुहोस्