Logo
८ बैशाख २०८१, शनिबार
(June 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहका लागि अह्वान गरिएको लोकसेवाको विज्ञापन तत्काल रद्द गर्न नेपाली कांग्रेसको माग

राजनीतिक दलहरुको सर्मथन र विरोधको क्रमबीच प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने माग गरेको छ ।

राजपा र समाजवादी पार्टीले विज्ञप्ती निकालेर उक्त विज्ञापनको विरोध गरिरहेका बेला रविन्द्र मिश्रको साझा बिवेकशील पार्टीले भने उक्त विज्ञापन कायम रहनु पर्ने अडान राख्दै आएको छ । यद्यपी बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बोल्दै उनले भने, ‘संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरीत खुलाइएको सो विज्ञापन तत्काल रद्द गर्नुपर्छ ।’

संविधानलाई केन्द्रमा राखेर लोक सेवा आयोगले पुनः सो विज्ञापन खुलाउने र स्थानीय तहमा आवश्यक कर्मचारी नियुक्तिको प्रक्रियालाई अघि बढाउने पक्षमा आफ्नो पार्टी रहेको प्रवक्ता शर्माको भनाई छ । उनले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनमा आफ्नो पार्टीको समर्थन रहेको पनि स्पष्ट पारे। प्रवक्ता शर्माले समितिले भने बमोजिम स्थानीय तहको कर्मचारी करारमा राख्ने पक्षमा भने आफ्नो पार्टी नरहेको पनि बताए ।

प्रवक्ता शर्माले सो विज्ञापनमा आवेदन दिएकाहरुको भावनाको सम्मान गर्न पनि लोक सेवा आयोगले सो विज्ञापन पुन खुलाउन ढिलाई गर्न नहुने पनि बताए । काँग्रेसले पहिलो चरणको जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको निष्कर्ष पनि निकालेको छ । पार्टीका प्रवक्ता शर्माले जेठ २५ गते सम्पन्न पहिलो चरणको राष्ट्रिय जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको निष्कर्ष निकालिएको पनि जानकारी दिए ।

पार्टीप्रतिको आकर्षण र सरकारप्रतिको जनताको विकर्षण रहेको पहिलो चरणको जागरण अभियानको क्रममा देखिएको प्रवक्ता शर्माको भनाई छ । जनजागरण अभियानको क्रममा लामो पृष्ठभूमि भएका कम्युनिष्ट पार्टीका नेताहरुसहित ३१ हजार ६ सय ४२ जना अन्य पार्टीबाट आफ्नो पार्टीका प्रवेश गरेबाट पनि पहिलो चरणको कार्यक्रमबाट जनता आफ्नो पार्टीप्रति आकर्षित भएको निष्कर्षमा पुगिएको पनि नेपाली काँग्रेसले जनाएको छ ।

दोस्रो चरणको राष्ट्रिय जागरण अभियान संचालन गर्नु अघि नै नेपाली काँग्रेसले नेविसंघलगायतका भातृ संस्थाहरुको पुनर्गठन गरी सक्ने कार्यक्रम पनि तय गरेको छ । नेपाली काँग्रेसले पहिलो चरणको कार्यक्रम सफल भएको र त्यसले जनतामा नयाँ उर्जा दिएको दावी पनि गरेको छ ।

काँग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आगामी भदौ २४ गते बीपी जयन्तिको दिनबाट सुरु गर्नेछ । त्यस अघि सो कार्यक्रमका लागि आवश्यक निर्णय लिन असारको तेस्रो साता केन्द्रिय कार्य समितिको बैठक बोलाउने निर्णय गरिएको पनि प्रवक्ता शर्माले जानकारी दिए ।

प्रकाशित मिति: Jun 13, 2019

प्रतिक्रिया दिनुहोस्