Logo
७ बैशाख २०८१, शुक्रबार
(May 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यसमिति बैठकमा राहुल गान्धीले कांग्रेस अध्यक्षबाट दिए राजीनामा

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले राजीनामाको घोषणा गरेका छन्। राहुल गान्धीले लोकसभामा पराजयपछि बसेको कांग्रेस कार्यसमिति बैठकमा शनिबार राजीनामा घोषणा गरेका हुन्।

लोकसभा निर्वाचनमा पार्टीको प्रदर्शनको समीक्षा गर्नका लागि कांग्रेस कार्यसमिति बैठक बोलाएको थियो। बैठकको सुरुमा नै राहुल गान्धीले राजीनामा घोषणा गरेका थिए। तर, कांग्रेस कार्यसमिति बैठकका सदस्यहरूले भने राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । सबै कार्यसमिति सदस्यहरूले राजीनामा दिन नहुने र पार्टीलाई एकजुट गरेर नयाँ नेतृत्वसहित अगाडि बढ्नुपर्ने बताएका छन्। राहुल गान्धी भने आफ्नो राजीनामा अडिग रहेको बताइएको छ।

भारतीय संचारमाध्यमका अनुसार राहुल अडिग रहे भने अर्को अध्यक्ष को होला र भारतको सबैभन्दा पूरानो पार्टी कसरी अगाडि बढ्ला भन्ने बहस सुरु भएको छ। राहुलले राजीनामा दिएर हारको जिम्मेवार आफू पनि भएको देखाएका छन्। कांग्रेसले लोकसभामा लगातार दोस्रोपटक हार बेहोरेको थियो।

उसले सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा मात्र ४४ सिट ल्याएको थियो। यसपटक ५४३ सिटको लोकसभा निर्वाचनमा राहुल नेतृत्वको कांग्रेसले ५२ सिट मात्र जितेको छ। राहुल गान्धी आफै पनि वर्षौंदेखि जित्दै आएको पुस्तौनी सिट अमेठीबाट पराजित भएका छन्। यो लोकसभा निर्वाचनबाट सत्तारुढ दल भारतीय जनता पार्टी एक्लैले बहुमत प्राप्त गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकअघि ३ प्रदेशका अध्यक्षहरूले भने राजीनामा दिएका छन्। कर्नाटक, उत्तर प्रदेश र उडीसाका अध्यक्षहरूले राजीनामा दिएका छन्।

प्रकाशित मिति: May 25, 2019

प्रतिक्रिया दिनुहोस्