प्रहरीको गोली लागेर विप्लवका एक कार्यकर्ताको मृत्यु

भोजपुर : प्रहरीको गोली लागेर घाइते भएका नेपाल कम्युनिष्ट पार्टी विप्लवका ३२ वर्षीय तीर्थराज घिमिरेको मृत्यु भएको छ । घाइते भएका विप्लवका कार्यकर्ता षडानन्द नगरपालिका-२, कुदाककाउलेका स्थानीयवासी थिए ।
मंगलबार दिउँसो भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका-२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा विप्लवका कार्यकर्ता र प्रहरीबीच मुठभेडका क्रममा गोली लागेको प्रहरीले बताएको छ ।
उनको प्रारम्भिक उपचारपछि थप उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । विप्लवका केही कार्यकर्ता हतियारसहित त्यसक्षेत्रमा रहेको भन्ने सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गरेको प्रहरीले दाबी गरेको छ ।
विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि यसका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्दै आएपनि ज्यान नै गएको यो पहिलो घटना हो । यता विप्लव समूहले सरकारले आफूमाथि लगाएको प्रतिबन्ध नहटाए कडा प्रतिरोध गर्ने चेतावनी दिँदै आएको छ ।